आज पाँच बजे देउवाको सपथ, आजै को–को बन्दैछन मन्त्री ?



२९ असार, काठमाडौं ।
सर्वोच्च अदालतकोे परमादेश बमोजिम आज साँझ पाँच बजे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ । देउवाले आफूसँगै आज नै केही मन्त्रीलाई पनि शपथमा साथै लिएर जाने तयारी गरेका छन् । सर्वोच्चले दिएको समय अनुसार राष्ट्रपतिले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र लगत्तै शपथ खुवाउने तयारी छ ।

आज नै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नको लागि सभापति देउवाले पार्टीभित्र छलफल गरिरहेका छन् । देउवा निकट एक नेताका अनुसार पहिलो चरणमा कांग्रेसबाट प्रकाशमान सिंह, ज्ञानेन्द्र बहादुर कार्की, डा.मिनेन्द्र रिजाल, वालकृष्ण खाँड, गगन थापा, डा.नारायण खड्का, भरत शाह, दिलेन्द्र बडु र डिला संग्रौलामध्ये दुई जनालाई शपथमा साथै लैजाने विषयमा कुराकानी भइरहेको छ ।

त्यसैगरी माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । प्रचण्डले पार्टीको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन ‘अनन्त’ पहिलो चरणमा मन्त्री बनाउने बताएको छ । त्यसैगरी जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले पनि मन्त्रीहरूको नामको अन्तिम तयारी गरिरहेको छ ।

जसपाबाट यादवकै नेतृत्वमा आज सरकारमा सहभगाी हुने स्रोतको दावी छ । मन्त्री छान्न अहिले जसपाको बैठक बसिरहेको छ । यसैबीच मन्त्रालय भागबण्डाको विषयमा छलफल गर्न अहिले देउवा र प्रचण्डबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्