रामेछापमा तेब्बर भाडा असुल्ने बसमाथि प्रहरीको ‘एक्सन’



२९ असार, रामेछाप ।
कोरोना संक्रमणको सम्भावित जोखिम कायमै रहेकाले रामेछापबाट अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र सवारी साधन सञ्चालन गर्न दिएको छ । तर विभिन्न बहानाबाजी गरेर राजधानी काठमाडौं लगायतका विभिन्न ठाउँबाट दैनिक १५ वटा भन्दा बढी सार्वजनिक सवारी साधन भित्र्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले अन्य जिल्लाबाट आएका सवारी साधनलाई सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिहरुको सिफारिस आएपछि मात्र प्रवेश गर्न दिने गरेको छ । जिल्लाबाट सार्वजनिक सवारी साधन काठमाडौं जानको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनिवार्य रुपमा सहमति चाहिने प्रावधान रहेको छ ।

विभिन्न बहानाबाजी गरेर जिल्ला प्रवेश गर्ने र जिल्लाभित्र सञ्चालित सार्वजनिक सवारी साधनले तोकिए भन्दा तेब्बर भाडा लिने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय रामेछापको संयुक्त पहलले कारवाही प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा चार वटा बसलाई कारवाहीको दायरामा ल्याएको छ । प्रहरीको सक्रियतामा बढी भाडा असुल्नेलाई भाडा फिर्ता समेत गराएको छ ।

प्रहरीले बा ५ ख ८७८५ को बसले खुर्कोट मन्थलीको प्रचलित भाडा ८० रुपैयाँ रहेकामा २ सयसम्म लिएको पाएपछि उक्त बसमाथि कारवाही गरेको छ । प्रहरीले सम्बन्धित यात्रुलाई १ सय २० रुपैयाँ फिर्ता गर्न लगाएको हो ।
त्यसैगरी बा ५ ख ५८१७ नम्बरको गोठगाउँबाट मन्थली चल्ने बसले प्रचलित भाडा १ सय ५० भएपनि ६ सयसम्म भाडा लिएको पाइएको प्रहरीले बताएको छ ।

यात्रुले प्रहरीलाई दिएको सूचनाका आधारमा प्र–३–०२–००६ ख.०६०४ नम्बरको बसले काठमाडौंबाट मन्थलीसम्मको प्रचलित भाडादर ५ सय रहेकामा दुई जना यात्रुसँग १५ सयसम्म लिएको जानकारी दिएपछि उक्त बसमाथि पनि प्रहरीले कारवाही गरेको छ । केही दिन अघि मात्र बा ५ ख २९५ को बसले यात्रुसँग बढी भाडा लिएको पाइएपछि कारवाही गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले लकडाउनको अवधिमा यात्रुमाथि बढी भाडा लिने सवारी साधनमाथि कडा कारवाही हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘यात्रुले सूचना दिएपनि खुलस्त रुपमा बोल्न नमान्दा समस्या सृजना भएको छ, तोकिएको भाडा भन्दा बढी भाडा लिनेलाई कारवाही गरेको छौ, हामीले जिल्लाभित्र सञ्चालित र जिल्ला बाहिरबाट आउने सवारी साधनमाथि निगरानी बढाएका छौं ।

प्रतिक्रिया दिनुहोस्