सुनापति गाउँपालिकावासीलाई गुण लगाउने धर्मगुरु तामाङ सम्मानित



३१ असार, रामेछाप ।
कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि महत्वपूर्ण योगदान गर्ने धर्मगुरु एवं सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरका सञ्चालक बिमानसिंह तामाङ सम्मानित भएका छन् । कोरोना संक्रमण सुरु भएयता सुनापति गाउँपालिकाको पाँच वटै वडामा खाद्यन्नदेखि लिएर दोस्रो लहर अन्तर्गत ठूलो चालिस वटा अक्सिजन सिलिन्डर सहयोग गर्ने तामाङ सम्मानित भएका हुन् ।

सुनापति गाउँपालिकाको नवौ गाउँसभामा आयोजित कार्यक्रमको बीच तामाङलाई गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गीता विष्ट र प्रमुख प्रशासकीय अधिृकत कमलराज श्रेष्ठले संयुक्त रुपमा सम्मान गरेका हुन् ।सम्माति भएपछि धर्मगुरु लामाले गाउँपालिकावासीलाई संकटको बेला सहयोग गर्न पाउदा आफू खुसी रहेको बताए । उनले भने,‘संकटको बेला सकेको सहयोग गर्नु सबैको दायित्व र कर्तव्य हो, हामीले पनि सहयोगी दाताहरुसँग सहकार्य गरेर गाउँपालिकालाई संकटको बेला स्वास्थ्य सामाग्री वितरण गरेको हो ।’

उनले अक्सिजनको अभाव हुन नदिन गाउँपालिकालाई आवश्यक अक्सिजन सिलिन्डर प्रदान गरिएको बताए । सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरको पहलमा गाउँपालिकालाई करिब २४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।त्यसैगरी गाउँपालिकाले कोरोना नियन्त्रण र रोकथामको लागि सहयोग गर्ने सबै दाताहरुलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्