रामेछापमा अब वडाको संख्या ६५ पुग्ने



१ साउन, रामेछाप ।
रामेछाप जिल्लामा वडाको संख्या बढने भएको छ । हाल जिल्लाको ८ स्थानीय तहमा रहेको ६४ वटा वडाको संख्या रहेकोमा थप एउटा बढेर ६५ पुग्ने भएको हो । मतदाताको आधारमा सुनापति गाउँपालिकाको हालको वडा नम्बर ४ लाई टुक्रयाउने निर्णय भएको छ । गाउँपालिकाको नवौ गाउँसभाले वडालाई टुक्रयाएर दुई वटा वडा बनाउने निर्णय गरेको हो ।

हाल चार नम्बर वडामा ८४ सय ५६ जना मतदाता रहेकोले वडा टुक्रयाउने निर्णय गरेको सुनापति गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खडग घिसिङले रामेछाप न्युजलाई बताए । वडा नम्बर ४ को साविक वडा नम्बर २,३,४, ५ र ६ वडालाई गाउँपालिकाको वडा नम्बर ६ को लागि प्रस्ताव गरिएको छ भने वडाको नाम बेथान पानीघाट नामाकरण गरिएको छ । त्यसैगरी साविक बडा नम्बर १, ७, ८ र ९ लाई वडा नम्बर ४ कायम गर्दै वडाको नाम डहु भ्वाँसा नामाकरण गरिएको छ ।

गाउँपालिकाको निर्णय अनुसार साविक बेथान गाविसको १,७,८ र ९वडाहरु रहने गरी साबिक वडा नं ५ जुगेपानी धारा देखि गोरेटो बाटो अनरीखोला काठेपिपल ग्याम्राङ हुदै साविक वडा नं ४ को कार्यालय अगाडि रहेको धारासम्म सिमाना रहने गरी वडा नं ४ लाई डहु भ्वाँसा नामाकरण गरिएको छ । चार नम्बर वडामा मतदाताको संख्या ४२ सय ५६ जना रहेका छन् ।

त्यसैगरी साविक बेथान गा.वि.स वडा नं २, ३,४,५ (जुगेपानी धारा देखि गोरेटो बाटो अनरीखोला काठेपिपल ग्याम्राङ भन्दा बाहेकको भुभाग) र ६ नं वडाहरुलाई समावेश गरी नयाँ ६ नं वडा बेथान पानीघाट नामाकरण गरिएको छ । त्यसैगरी प्रस्तावित वडा नम्बर ६ मा ४३ सय ३० जना मतदाता रहेका छन् ।

वडा अध्यक्ष घिसिङले गाउँपालिकाको सिफारिसमा मतदाताको आधारमा मन्त्रीपरिषले निर्णय गरेपछि वडा विभाजनको निर्णय लागू हुनेछ । आगामी स्थानीय तहको निर्वाचन अघि नै सुनापति गाउँपालिकामा एउटा वडा थपिएसँगै वडाको संख्या ६ वटा पुग्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्