पुनः सभापतिमा उम्मेदवारी दिने न्यौपानेको घोषणा
२ साउन, रामेछाप ।
नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिदै जादा रामेछापमा पनि नेपाली कांग्रेसभित्र जिल्ला नेतृत्वको लागि दौडधुप सुरु भएको छ । रामेछापमा कांग्रेसभित्र जिल्ला सभापतिको लागि झण्डै एक दर्जन भन्दा बढी आकांक्षी रहेका छन् । आकांक्षी मध्ये कांग्रेसका नेता एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले सभापतिमा उदेम्मदवारी घोषणा गरेसँगै पार्टीका जिल्ला सभापति लवश्री न्यौपानले पनि पुनः एक कार्यकालको लागि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।
न्यौपानेले रामेछाप न्युजसँग भने,‘साथीभाई सबैले एक कार्यकाल दोहोर्याउन सुझाव दिएका छन्, कार्यकर्ताको चाहना र भावनालाई सम्बोधन गर्दै सभापतिमा पुनः उम्मेदवारी दिन्छु ।’उनले आफ्नो कार्यकालमा पार्टी कार्यालयको भवन निर्माणको काम भएको बताउदै जिल्लामा पार्टीलाई थप बलियो बनाउनको लागि पनि एक कार्यकाल सभापतिमा उम्मेदवारी दिन लागेको बताए । ‘मेरो कार्यकालमा पार्टी संगठनलाई बलियो बनाउने काम भएको छ, अब स्थानीय चुनावमा पार्टीलाई थप सुदृढ गरेर अगाडि बढन पनि मैले उम्मेदवारी दिन लागेको हुँ’, न्यौपानेले भने ।