प्रधानमन्त्री देउवाले विश्वासको मत लिने यस्तो छ अंकगणित



३ साउन, काठमाडौं ।
प्रतिनिधिसभा पुर्नस्थापित भएसँगै पहिलो पटक बस्न लागेको बैठकमै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएको छन् । विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । कार्यव्यवस्था समितिबाट आजै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यतालिका बनाएको छ । असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिन लागेका हुन्।

दोस्रो पटक संसद् पुनर्स्थापनापछि प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । पहिलो बैठकले शोक प्रस्ताव पारित गर्नेछ । दोस्रो बैठकमा देउवाले विश्वासको मत लिन लागेका हुन्। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कायम छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाका ३४ (२ निलम्बित) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँगै माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह र स्वतन्त्र सांसदले साथ दिने देखिएको छ । एमालेको नेपाल समूहको साथ पाएमा देउवाले विश्वासको मत पाउने देखिन्छ । नेपाल समुहका २३ जना सांसदले विश्वासको मत दिए देउवाले सहजै विश्वासको मत प्राप्त गर्नेछन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको एकसाता पनि नबित्दै शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । एक महिनाभित्र विश्वासको मत लिने सुविधा रहेकाले प्रधानमन्त्रीले यसबारे हतारो नगर्ने अनुमान भइरहेकै बेला सत्ता पक्षले आजै विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा पेस गरेको छ ।

देउवाको पक्षमा काँग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । जसपाका ३४ मध्ये उपेन्द्र यादवको पक्षमा १७ सांसद उभिएका छन् । राष्ट्रिय जनमोर्चाकी एक सांसद पनि प्रधानमन्त्री देउवाको गठबन्धनमा छिन् । यी सबै जोड्दा देउवाको पक्षमा १२८ मत पुग्छ ।

प्रतिनिधिसभामा हाल कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन प्रधानमन्त्री देउवाले १३६ मत ल्याउनुपर्ने हुन्छ । यो हिसाबले उनलाई थप ८ मतका लागि या त माधव नेपाल समूहले मत हाल्नुपर्ने हुन्छ, या महन्थ ठाकुर पक्षले मत दिनुपर्ने हुन्छ ।

माधव नेपाल पक्षका नेताहरूले भने देउवालाई विश्वासको मत दिने बताउँदै आएका छन् । यसअघि नै माधव नेपाल समूह देउवाको गठबन्धनमा सहभागी हुँदै आएको छ । सर्वोच्च अदालतमा परेको रिटमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । सर्वोच्चमा बुझाइएको रिटमा बहुमत अर्थात् १४६ सांसदको हस्ताक्षर जुटेको हुनाले त्यो मत सदनमा पनि देउवाले पाउने सत्ता पक्षको दाबी छ ।

एमालेका कुल १२१ सांसदमध्ये २३ जना माधव नेपालको पक्षमा रहेकाले ओलीको पक्षमा ९८ सांसदमात्र छन् । यीमध्ये पनि केही सांसदले फ्लोर क्रस गरेर देउवालाई सघाउने भित्री वचन दिएको काँग्रेस स्रोतको दाबी छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा २३२ सांसद उपस्थित रहेकोमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत खसेको थियो । १५ जना भने तटस्थ रहे ।

प्रतिक्रिया दिनुहोस्