रामेछापमा अविरल बर्षाको कारण ठाउँठाउँमा पहिरो, १७ घर जोखिममा



५ साउन, रामेछाप ।
रामेछाप जिल्लामा गएराती आएको अविरल बर्षाको कारण जताततै पहिरो जान सुरु गरेको छ । पहिरोको कारण केही घर भत्किएका छन भने एक दर्जन भन्दा बढी चौपाया पुरिएर मरेका छन् । पहिरोको कारण हालसम्म कुनै पनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

अविरल बर्षाको कारण मन्थली नगरपालिका– १ मछेडाँडीका नारायण घिमिरेको ढुङ्गा माटोले बनेको गोठ भत्किएको छ भने अनिरुद्ध सुबेदीको आँगनको डिल भत्किएको छ । गोठ भत्किदा एउटा खसी र एउटा भैसीको पाडो मरेको छ ।

त्यसैगरी अविरल वर्षाको कारण मन्थली–१३ चिण्डेको भुजेल टोलमा पहिरो गएको छ । भुजेल टोल बस्ने गोपाल घर्तीको घर तथा सँगै जोडिएको गोठमा रहेको १० वटा बाख्रा र १ वटा बंगुर मरेका छन् । घर गोठ र चौपायाँ गरी करिब ४ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

त्यसैगरी भुजेल टोलकै परमेश्वरी भुजेलको घर पहिरोले पुरिएको छ । घर पुरिदा करिब एक लाख बराबरको क्षति पुगेको छ । पहिरोको कारण भुजेलटोलका १७ घरधुरी जोखिममा रहेको प्रहरीले बताएको छ । पहिरोको कारण मुख्य सडकमा लेदो एवं बाढी आएपनि हाल सडक मुख्य सडक भने सुचारु रहेको छ ।अविरल बर्षाको कारण आज बिहान रामेछापबाट दोलखा सडक खण्डको लिखु तामाकोसी गाउँपालिका–६ खानीखोलामा आँपको रुख खसेर अवरुद्ध भएको सडक प्रहरी र स्थानीयवासीको सहयोगमा खुलाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्