रामेछापमा जबरजस्ती करणीको घटना बढयो,एक बर्षमा २३ वटा घटना



१३ साउन, रामेछाप ।
रामेछाप जिल्लामा एक बर्षको अवधिमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी २३ वटा घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा गत आर्थिक बर्षमा १६ वटा जबरजस्ती करणी र ७ वटा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको बताएको छ । १६ वटा जबरजस्ती करणीको घटना मध्ये १४ वटा घटनामा संलग्न आरोपीलाई पक्राउ गरेको छ भने जबरजस्ती करणी उद्योगमा दर्ता भएको ७ वटा  घटनामा ६ जना पक्राउ गरेर जिल्ला अदालत रामेछापमा पेश गरेको छ ।

तीन घटनामा फरार रहेका आरोपीलाई समेत प्रहरीले खोजी कार्य तीब्र बनाएको बताएको छ । २०७७। ०७८ मा जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको १६ वटा ७ वटा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो । विगतको अघिल्लो बर्ष भन्दा गत बर्ष जिल्लाभित्र जबरजस्ती करणीको घटना बढेको तथ्याङकले देखाएको छ ।

गत बर्ष जिल्लाभित्र २३ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता सन्तोष श्रेष्ठले जानकारी दिए । श्रेष्ठले जबरजस्ती करणीको घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ प्रहरीले गम्भीर रुपमा लिएर तत्काल एक्सनमा जाने गरेको बताए । ‘पीडित पक्षलाई न्याय दिलाउने काममा प्रहरी जिम्मेवार भएर काम गर्छ’, उनले भने,‘तीन वटा घटनामा बाहेक प्रहरीले अन्य मुद्दामा सफल अनुसन्धान गरेर फस्यौट गरिसकेका छौं ।’

जिल्ला प्रहरीले स्थानीय तहसँगको सहकार्यमा महिला हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । प्रवक्ता श्रेष्ठले जिल्लाको आठ वटै स्थानीय तहमा महिला हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्