बिजुली जाने, टेलिफोन नलाग्ने समस्याले रामेछापवासी दिक्क
१४ साउन, रामेछाप ।
रामेछाप जिल्लाभित्र हरेक नागरिकको दैनिकीसँग जोडिएको बिजुली दैनिक रुपमा झ्याप–झ्याप जाने गर्छ । सदरमुकाम मन्थली सहित जिल्लाका अधिकाशं क्षेत्रमा बिजुली आउने/ जाने भइरहेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रामेछापले घोषित रुपमा लोडसेडिङको कार्यतालिका सार्वजनिक नगरेपनि पछिल्लो दुई साता ढल्केबरमा ट्रान्फमर विग्रदा त्यसको मार रामेछापवासीले खेप्दै आएका छन् । ढल्केबर र लामोसाँघु गरी ३३ केभी प्रशारण लाइन रामेछापमा जोडिएको छ । लामोसाँघुबाट आउने बिजुलीमा बारम्बार समस्या सृृजना हुने गरेपछि विद्युत प्राधिकरणले रामेछापको लागि ढल्केबरबाट पनि ३३ केभी प्रशारण लाइन जोडेको थियो ।
लामोसाँघु चरिकोट हुँदै मन्थली सब स्टेशन मार्फत वितरण भइरहेको विद्युतमा बारम्बार समस्या आउने गरेको छ । अधिकाशं ठाउँमा रुखका हाँगाबिगाले छुने समस्या भएको कारण रामेछापमा झ्याप झ्याप विजुली जाने गरेको छ । दैनिक रुपमा पटक–पटक बिजुली जाने समस्या भएपछि मन्थलीका नागरिकहरुले विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराउनेदेखि नियमित रुपमा बिजुली प्रवाह गर्न दबाब समेत दिदै आएका छन् ।
नेपाल विद्युत प्राधिकरण रामेछाप तितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले ढल्केबरबाट सब स्टेसनमा ट्रान्फमर विग्रिएको कारण नियमित रुपमा रामेछापतर्फ विद्युत आउन नसकिरहेको बताउछन् । उनले भने,‘लामोसाँघुबाट आउने प्रशारण लाइनमा आउने समस्या समाधान गर्न रुखका हाँगाविगा काटने काम नियमित रुपमा गरिरहेका छौ, वीस किलोमिटर दुरीमा हुनुपर्ने सब स्टेसन पचास किलोमिटर दुरीमा हुँदा बिजुली जाने समस्या झेलिरहेका छौं ।’ नीतिगत रुपमा सुधार गर्नुपर्ने विषयमा पनि केन्द्रीय कार्यालयमा जानकारी गराइरहेको बताउदै आफ्नो तर्फबाट हुन सक्ने सेवा प्रवाहमा कुनै पनि कमी हुन नदिन रातदिन नभनि काम गरिरहेको दाहालले बताए ।
बिजुली मात्र रामेछापमा नेपाल टेलिकमको फोन नलाग्ने र इन्टरनेट सेवा नचल्ने पनि सामान्यजस्तै बन्न लागिसकेको छ । बर्षौदेखि जिल्लाभित्र टेलिकमको फोन लाग्ने समस्या रहदै आएको छ । जिल्लावासीले टेलिफोन नलाग्ने समस्यामा पटक–पटक नेपाल टेलिकमको ध्यानाकर्षण समेत गराइसकेका छन् । रामेछापमा जिल्लाभित्र फाइबर सेवा पनि सञ्चालन भइसकेको छ । चरिकोट र धुलिखेल खुर्कोट हुँदै रामेछापमा दुई वटा फाइबरको लिंक जोडिएको छ । एउटा फाइबर जादा अर्कोले चल्नु पर्ने भएपनि दुवै वटा फाइबर एकै पटक काटिदा सेवाग्राहीले ठूलो सास्ती झेल्दै आएका छन् । कोरोनाको कारण विद्यालय बन्द हुँदा अधिकाशं बालबालिका अहिले अनलाइन मार्फत पठनपाठन गर्दै आएका छन् । तर इन्टरनेट चल्दा विद्यार्थीको पठनपाठन समेत प्रभावित बन्न पुगेको छ ।
नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले जिल्लामा चरिकोट र धुलिखेल खुर्कोट हुँदै रामेछाप जिल्लामा दुई वटा फाइबरको लाइन तान्दा पनि समस्या समाधान हुन नसकेको बताउछन । उनले रामेछाप न्युजसँग भने,‘हामीले एउटा फाइबर काटिदा अर्को फाइबर चलाउने नीति बनाएको छौ, तर विडम्बना दुई वटै फाइबर एकै पटक बन्द हुँदा समस्या भएको हो ।’ उनले फाइबरको ट्रान्समिसन लाइन लामो हुँदा पनि फाइबर सेवामा बारम्बार समस्या आउने गरेकाले सुधारको लागि माथिल्लो निकायमा पहल गरिरहेको बताए ।
बिजुली र टेलिकममा बारम्बार आउने समस्याले रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू पनि दिक्क भएका छन् । जिल्लावासीले धेरै पटक प्रजिअ सैजूलाई बिजुली र टेलिकमा देखा परेको समस्या समाधान गरिदिन धेरै पटक आग्रह पनि गरिसकेका छन् । नागरिकहरुको गुनासो अनुसार विद्युत र टेलिकमका रामेछापका प्रमुखहरुलाई बोलाएर समस्या समाधान गर्न आग्रह पनि गदै आएका छन् । तर समस्या ज्यूकात्यू रहेको छ ।रामेछापका प्रजिअ सैजूले रामेछाप न्युजसँग भने,‘विद्युत र टेलिफोनमा देखिएको समस्या समाधान गर्न मैले केन्द्रीय निकायमा पनि पहल गरिरहेको छु, नागरिकहरुको अत्यावश्यक वस्तुसँग जोडिएको विद्युत र टेलिफोन सेवा प्रभावकारी हुन्छ ।’