रामेछापमा पहिलो घटनाः तीन तले पक्की घरको एक तला भासियो
१६ साउन, रामेछाप ।
रामेछाप जिल्लामा अवरिल बर्षासँगै मन्थली नगरपालिका–१ बसपार्क नजिकै तीन तले पक्की घरको एक तला भासिएको छ । सम्भवतः रामेछाप जिल्लामा पक्की घर जमिनमुनी भासिएको पहिलो घटना बन्न पुगेको छ । हिजाे शुक्रवार बिहानबाट चर्किएको घर माथिबाट पहिरो आउदा घरमा समस्या भएको थियो ।
मन्थली नगरपालिको पहिरो पन्छाउन कोशिस गरेको थियो । तर गएराती चर्किएको घरको एक तला नै जमिनमुनी भासिएको छ । पाँच बर्ष अघि हिराबहादुर माझीले उक्त स्थानमा घर निर्माण गरेका थिए । अहिले बर्षासँगै घरमाथि पहिरो आएकै कारण घर नै भासिएको छ । मन्थलीवासीले माझीको घर भासिनुलाई आश्चार्यको रुपमा लिएका छन् । मन्थली नगरपालिका नगर प्रमुख रेमश बस्नेतले स्थानीय हिरा बहादुर माझीको घर भासिनु नगरपालिकामा पहिलो घटना भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हिजोसम्म तीन तला नै थियो, आज बिहान उठदा एक तला भासिएर दुई तला मात्र भएछ ।’ उनका अनुसार भासिएको घरबाट अरु वस्तीमा क्षति हुन नदिन उक्त घरलाई भत्काउने काम अगाडि बढाइकाे बताए ।
घरधनी हिरा बहादुर माझीले पाँच बर्ष करिब एक करोड लगानीमा निर्माण गरिएको घर भासिदा विक्षिप्त बनेका छन् । उनले रामेछाप न्युजसँग भने,‘जीवनभर कमाएको पसिनाबाट बनाएको तीन तले घर हेर्दाहेर्दा एक तला भासियो, अब सुकुम्बासी हुने अवस्था आयो ।’ उनले घर मासिएपछि अब घडेरी पनि नहुने चिन्ता थपिएको बताउदै घर भासिएसँगै आफ्नो परिवारको सपना पनि भासिएको बताए ।