रामेछापमा यात्रुसँग दोब्बर भाडा असुल्ने छ भाइ प्रहरीको फन्दामा
२४ साउन, रामेछाप ।
रामेछाप–काठमाडौं सिधा सार्वजनिक यातायात साधन नचलेको फाइदा उठाउदै बस र टाटासुमोले यात्रुसँग दोब्बर भाडा असुल्ने क्रम बढेको छ । सरकारले निर्धारण गरेको भाडा भन्दा दोब्बर भाडा लिएको सूचनाको आधारमा जिल्लाभित्र प्रहरीले ठाउँठाउँमा छडके चेकजाँच गर्ने कामलाई अगाडि बढाएको हो ।
आइतवार चेकजाँच गर्ने क्रममा यात्रुहरुसँग बढी भाडा लिन ६ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापबाट खटिएको संयुक्त टोलील जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा बढी भाडा लिएको पत्ता लगाएको छ । तोकिए भन्दा बढी भाडा लिने चालकले आत्रुसँग लिएको बढी भाडा फिर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दोब्बर भाडा लिने चालकहरुलाई नगद जरिवाना समेत गरिएको छ । बढी भाडा लिने सवारी साधनलाई यातायात व्यवस्था ऐन बमोजिम छ वटा सवारी साधनलाई नौ हजार पाँच सय जरिवाना गरिएको बताउदै श्रेष्ठले चालकरुलाई काजग गराई आगामी दिनमा बढी भाडा नलिने लिखित कागज गराई छोडिएको जानकारी दिए ।
कागज गरी छुटनेहरुमा बा ४ ख १९९९ नम्बरको बसका चालक श्याम कुमार श्रेष्ठ, ना १ज ५६६० नम्बरको टाटासुमको चालक जगत सुनुवार, ना १ ज २६३ नम्बरको टाटासुमो चालक दोर्जे शेर्पा, ना १ ज ६१०४ नम्बरका टाटासुमो चालक दिल बहादुर श्रेष्ठ, ना २ ज ५५२२ टाटासुमोका चालक रमेश श्रेष्ठ र ना १ ज ४२४५ टाटासुमो चालक टेक बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।