चुनौतीको चाङ पन्छाएर विद्युत प्राधिकरणलाई सफल बनाउछुः घिसिङ



२७ साउन, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गर्नु भएको छ । कार्यकारी निर्देशक घिसिङले बुधबार रत्पार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गर्नु भएको हो ।ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त घिसिङले आफ्नो ४ वर्ष कार्यकाल पूरा गरी गत वर्षको भदौमा प्राधिकरणबाट बिदाई हुनुभएको थियो ।

पदबहालीपछि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा घिसिङले आफ्नो व्यक्तिगत जीवनकै सैभन्दा ठूलो चुनौती स्वीकारेर आएको र सरकारले दिएको जिम्मेवारी दृढताकासाथ वहन गरी आम सुभेच्छुकहरुको विश्वासलाई फेरि पनि अझ उचाइमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।
‘म विद्युत प्राधिकरणमा आउनै पर्छ भन्ने थिएन, सरकारले दिएको जिम्मेवारी र मलाई प्राधिकरणमै रहेको देख्न चाहाने सर्वसाधारणको अपेक्षालाई पूरा गर्न जीवनकै सबैभन्दा ठूलो जोखिम मोलेर आएको छु’, उहाँले भन्नुभयो । ‘विगतमा गलत काम भएको भए सच्याउने, राम्रा कामलाई अगाडि बढाउने र नयाँ कार्यक्रम सुरु गर्ने भिजनसहित आएको छु, कसैको कुरा काट्ने र बिरोध गर्नेभन्दा पनि सरकारकाले दिएको निर्देशन तथा कार्ययोजना कार्यानयनका गर्न कठोर भएर काम गर्नु पर्ने छ ।’

सुशासनमा कठोर बन्दै सेवा प्रवाहलाई अझै सुधार गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गदै घिसिङले अहिले आम उपभोक्ताले गुनासो गर्ने गरेको झ्याप्प झ्याप्प बत्ति जाने समस्या समाधान गरी विद्युत आपूर्तिको गुणस्तर तथा विश्वसनीयता सुधारमा केन्द्रित हुने प्रतिबद्धता जनाउनुभयो ।
‘विगतमा हासिल भएका उपलव्धीलाई संस्थागत गर्नु,उत्पादित विद्युत खपत बढाउने तथा वजार व्यवस्थापन गर्ने, विद्युत् आपूर्तिको नियमितता र गुणस्तर बृद्धि गर्ने उत्पादन, प्रसारण तथा वितरणतर्फका निर्माणाधीन आयोजनाको काम सम्पन्न गर्ने र नयाँ सुरुवात गर्ने, विद्युतीकरण गर्ने , संस्थागत सुशासन कायम गरी सेवा प्रवाह सुधार गर्नेतर्फ केन्द्रित हुने छौं’ उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले अहिलेको चुहावट हटाउन, संस्थाको नाफा बढाउन कार्यकारी निर्देशक घिसिङको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो । ‘बिरामी प्राधिकरणको उपचारका लागि कार्यकारी निर्देशक डाक्टर भएकाले संस्थालाई बचाउन शल्यक्रिया गर्ने, काट्ने उहाँकै हातमा छ’, कोइरालाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्