खाँली खुट्टा हिडेर स्कुल जान्थेः कुलमान घिसिङ (भिडियोसहित)



२९ साउन, भक्तपुर ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाली खुट्टा हिडेरै विद्यालय गएको स्मरण गरेका छन् । सरकारी विद्यालयमा पढेर पनि देशलाई योगदान दिन सकिने बताउदै उनले आफू पनि गाउँको विद्यालयमा खाली खुट्टा हिडेर पढेको बताएका हुन् । घरबाट नजिकै रहेको डहु मावि र एक घण्टा टाढा रहेको बेथान माविमा आफूले चप्पल समेत नलगाई प्रारम्भिक शिक्षा हासिल गरेको घिसिङले स्मरण गरे ।

डहु मावि भूतपूर्व विद्यार्थी समाजले शुक्रवार भक्तपुरमा आयोजना गरेको रजिता दोङ तामाङको उपचारार्थ संकलित सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले कडा मेहनत गरेर सफल बन्न सकेको अवस्थामा आम नेपाली जनताले माया गर्ने बताए । उनले भने,‘डहु माविबाट पढेर आज म देशलाई योगदान दिने ठाउँमा आइपुगेको छ, आज आम नेपालीले माया गर्छन, यसको लागि मेहनत र धैर्यता चाहिन्छ ।’ गाउँमा आफूले ठूलो शिक्षा लिएर नआएको बताउदै काठमाडौंमा आएर निकै मेहनत गरेर शिक्षा हासिल गरेको उनले बताए ।

‘मेहनत र अनुशासन निकै महत्वपूर्ण हुन्छ’, घिसिङले भने,‘म विद्युत प्राधिकरणको साधारण कर्मचारी हो, मर्यादा क्रमको हिसाबमा म पचासौ तहमा होला, तर आम नेपाली जनताले मलाई माया गर्नुभएको छ ।’
दाेस्रो कार्यकाललाई आफूले निकै ठूलो चुनौती महशुस गरिरहेको बताउदै घिसिङले जस्तोसुकै चुनौतीलाई पनि सामना गरेर प्राधिकरणलाई सफल बनाएर छोडने बताए ।

ठूले चुनौती छ, धेरै चिन्ता पनि लागेको छ, तर म कडा मेहनत गरेर प्राधिकरण र देशलाई फाइदा हुने काम गरेर देखाउछु, उनले भने ।घिसिङले रजिता तामाङलाई कडा मेहनत गरेर आगामी दिनमा सफल व्यक्ति बन्नको लागि आफ्नो तर्फबाट हुने सहयोग गर्ने प्रतिबद्धता समेत बताए ।

भिडियाे

भिडियोः तेज तामाङबाट

प्रतिक्रिया दिनुहोस्