यार्चागुम्बा लुटने रामेछापका थापामगरसहित सात जना पक्राउ



३१ साउन, काठमाडौं ।

काठमाडौंमा यार्चागुम्बा लुटेको आरोपमा सात जना पक्राउ परेका छन् । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वराका दिलिप थापामगरसहत सात जना पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाका प्रमुख कृष्ण कोइरालले सात जनालाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको बताए । उनीहरूले गत आइतबार नयाँ बसपार्कमा दीपक लामा र सुरेश सापकोटबाट एक किलो यार्चागुम्बा लुटपाट गरेका थिए ।

लुटपाट भएको भन्ने निवेदनका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको कोइरालले जानकारी दिए । मुख्य योजनाकार बझाङ घर भएका भक्तपुरको सूर्यविनायक बस्ने ३४ वर्षीय धर्म ओखेडा रहेको प्रहरीले बताएका छन् । पक्राउ पर्नेमा म्यानवपावर व्यवस्थापक समेत रहेका दोलखा घर भई ठमेल बस्ने ३२ वर्षीय मनोजकुमार श्रेष्ठ, रामेछाप घर भइ नयाँ बजार बस्ने २७ वर्षीय दीपक थापा मगर, काभ्रे घर भई नयाँबजार बस्ने २७ वर्षीय विशाल लामा, २३ वर्षीय योङ्देन लामा र २२ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले यार्चागुम्बा किन्ने भारतको कास्मिर घर भई नयाँबजार बस्ने ३७ वर्षीय मोहम्मद ईसाकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमध्ये एक जनाले किन्ने बहाना बनाएर लुटपाट गरेको प्रहरीले बताएको छ । लुटपाट गर्ने समूहसँगै एक जना किन्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । मोहम्मद ईसाकबाट प्रहरीले सात किलो ७४० ग्राम यार्चागुम्बा बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्