आज १८ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाइदै



३२ साउन, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ्ग दोरम्बा गाउँपालिको दोरम्बा हत्याकाण्ड घटेको आज १८ बर्ष पुगेको छ । १८ बर्ष अघि अर्थात २०६० साल साउन ३२ गते दोरम्बा शैलुङ्ग गाउँपालिकाको दोरम्बामा तत्कालिन बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन शाही नेपाली सेनाले माओवादीका २१ जना नेता कार्यकर्ताको सामुहिक हत्या गरेको थियो ।

२०६० साल साउन ३२ गते रामेछाको दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ सहित २१ जनाको हत्या गरेपनि उक्त घटना राष्ट्रिय अन्तर्राष्ट्रि रुपमा चर्चाको बिषय बन्न पुगेको थियो । उक्त घटनामा माओवादीका अम्बिका दाहाल (ललिका), प्रदिप दोङ (रक्तिम), टेकबहादुर थापामगर (विवेक), हर्कबहादुर तामाङ (यथार्थ), विष्णुमाया मगर (बिमा), रवि चौहान (समिर), ठूलाराम तामाङ (छोप्पा), सानाराम तामाङ (तारा), लक्ष्मण तामाङ (छाया), उमा कार्की (साहारा), पदमराज गिरी (असल), श्याम तामाङ (इन्क्लाव), सोमाइ थामी (संगीता), हर्क लक्ष्मी राई, जमिन, सोम, उषा, शिक्षक युवराज मोक्तान र लिला मोक्तानको सामुहिक हत्या भएको थियो ।

दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवरसमा आज नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँ कमिटीले डाँडाकटेरीमा कार्यक्रम आयोजना गरेको छ । कोभिडको कारण जिल्लामा उपलब्ध नेता तथा कार्यकर्ताको मात्र सहभागीता हुने माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँ कमिटीका अध्यक्ष हिरा श्रेष्ठले जानकारी दिए ।

२०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालिन सरकार र माओवादीबीच दोस्रो चरणको वार्ता चलिएरहेको अवस्थामा दोरम्बामा बैठक बसिरहेको घरबाट माओवादीका नेता तथा कार्यकर्ताहरुलाई कब्जामा लिएर सामुहिक हत्या गरिएको थियो । दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएका पीडितहरुले आफूहरुले अझै न्याय नपाएको बताउदै आएका छन् ।

दोरम्बा हत्याकाण्डमा ज्यान गुमाउने शहीदहरुको सम्झनामा बागमती प्रदेश सरकारको लगानीमा डाडाँकटेरीमा २१ जना शहीदहरको अर्धकदको शालिक स्थापना गरिएको छ ।दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले डाँडाकटेरीलाई युद्ध पर्यटनको क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारिएको बताए ।

प्रतिक्रिया दिनुहोस्