एमाले विभाजनकाे असर, रामेछापमा एमालेका जनप्रतिनिधि को-कता ?
३ भदौ, रामेछाप ।
नेकपा एमाले विभाजन भएसँगै त्यसको असर रामेछाप जिल्लामा पनि परेको छ । पार्टी विभाजन भएसँगै जिल्लाका नेता कार्यकर्ता पनि विभाजित हुने क्रम बढेको छ । केही नेता कार्यकर्ता खुलेर विभाजनको पक्षमा देखिएका छन भने केही पर्ख र हेरको नीतिमा रहेका छन् । नेकपा एमाले (समाजवादी) पार्टीले गठन गरेको ९५ सदस्यीय केन्द्रीय कमिटीमा रामेछापबाट देवकशंर पौडेलको नाम समावेश भएको छ । नेपाल पक्षमा उभिदै आएका शान्ति पौडेलले अन्तिम समयमा आएर नेपाल पक्षलाई साथ नदिने निर्णय गरेका छन् ।
रामेछापको आठ वटा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले पनि आ–आफ्नो कित्ता रोज्ने क्रम सुरु भएको छ । दल विभाजन सम्बन्धि अध्यादेशमा २१ दिनभित्र जनप्रतिनिधिहरुले दल रोज्न पाउने प्रावधान राखिएको छ । रामेछापमा नेकपा एमालेले पाँच वटा स्थानीय तहमा जित हासिल गरेको थियो । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले माधव कुमार नेपालको साथ रोजेका छन भने उपप्रमुख माया कार्कीले एमालेमै रहेकी छिन् । त्यसैगरी खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ एमालेमै रहेका छन भने उपाध्यक्ष मखमली श्रेष्ठले अहिलेको परिस्थितिको बारेमा बुझेर मात्र निर्णय लिने रामेछाप न्युजलाई बताइन ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई तत्कालिन नेकपाले गरेको कारवाही एमाले पनि यथावतै राखेको छ । उपाध्यक्ष दीपशिखा दाहालले भने २१ दिनभित्र दल रोज्न पाउने भएकाले अहिले नै कुनै निर्णय नगरिसकेको प्रतिक्रिया दिइन ।
त्यसैगरी गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार उपाध्यक्ष राधिका श्रेष्ठ यसअघि नै एमालेमै रहने निर्णय गरिसकेका छन् ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले अहिले नै कुनै निर्णय गरिनसकेको बताउछन । उनले रामेछाप न्युजसँग भने,‘अहिले म गाउँपालिकाको अध्यक्ष हुँ, कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन बलियो गठबन्धन बनाएर जानुपर्छ भन्ने मेरो धारणा छ ।’