मोटरसाइकल चोरेर भाग्दा भाग्दै रामेछापका युवक पक्राउ



४ भदौ, काठमाडौं ।
मोटरसाइकल चोरर भाग्दा भाग्दै रामेछापका एक युवक काठमाडौंको गोगबुबाट पक्राउ परेका छन् । प्रदेश ०२–०१२ प ७०६६ नम्बरको कालो–रातो रङको २२० सीसीको पल्सर मोटरसाइकल चोरेर भाग्दा भाग्दै गरेको अवस्थामा दोरम्बा शैलुङ्ग गाउँपालिका–२ दोरम्बा स्थिति बोदलका २२ बर्षिय तेज थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार रामेछाप घर भई हाल दक्षिणढोका बस्दै आएका थापा मगरलाई नयाँ बसपार्कस्थित गंगबुबाट नियन्त्रण लिएको हो । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले अनुसन्धानको क्रममा सो मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३–०२–०१० प ९४४६ खुल्न आएको बताए ।

१० दिन अगाडि काठमाडौं पेप्सीकोलाबाट हराएको उक्त नम्बरको मोटरसाइकल खोजतलासका लागि काभ्रे, चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौं मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकलसहित थापा मगरलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, नयाँ वानेश्वर पठाइएको भट्टराईले जानकारी दिए ।

उपत्यकामा मोटरसाइकल चोरीका घटना बढेको गुनासो आएपछि महाशाखाले खोजी कार्यलाई पनि तीव्र पारेको छ । सुनसान स्थानमा मोटरसाइक पार्क नगर्न, पार्किङ स्थलमा राख्दा राम्ररी लक गरेर मात्र छोड्न महाशाखाले आग्रह गरेको छ । मोटरसाइकल हराइहालेमा तुरुन्त महाशाखामा आएर निवेदन दिन पनि महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्