रामेछापमा श्रंखलाबद्ध चोरीको घटना बढयो, केहीलाई थुन्दै केहीलाई खोज्दै प्रहरी
१४ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा पछिल्लो समयमा चोरी हुने घटना बढेको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकाभित्र रातीको समयमा श्रंखलाबद्ध रुपमा चोरीको घटना बढेको छ । रातीको समयमा विद्यालय, व्यक्तिको घर र पसलमा चोरी गर्ने क्रम बढेपछि स्थानीय त्रसित बनेका छन् ।
गएराति अज्ञात समूहले मन्थली नगरपालिका–५ सुनुवारपानीमा ४ घरमा चोरी भएको छ । सुनुवारपानीका स्थानीय राजेन्द्र कार्कीको पसल फोरी पसलमा रहेको नगद २ लाख रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । त्यसैगरी स्थानीय सुमन कार्कीको पसलबाट दस हजार नगर चोरी भएको छ ।
रामेछाप जिल्लाभित्र विभिन्न चोरीको घटनामा संलग्न तीन जनालाई जिल्ला प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । त्यसैगरी श्रंखलाबद्ध चोरीका घटनामा संलग्न समुहको पनि खोजी कार्य जारी राखेको प्रहरीले बताएको छ । गोकुलंगा गाउँपालिकाकाभित्र विद्यालय, पसल र घरमा गरी यसअघि श्रंखलाबद्ध रुपमा चोरीको घटना भएको थियो । गोकुलगंगा गाउँपालिकामा चोरीको घटनामा कमी आएसँगै गएराती फेरि मन्थली नगरपालिकाको सुनुवारपानीमा पसल चोरी भएको छ ।
चोरीको घटनाको विषयमा प्रहरीले सक्रियतापूर्वक काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । उनका अनुसार चोरीको घटनामा संलग्न तीन जनालाई पक्राउ गरेर थुनामा राखिएको र बाँकीलाई पनि खोजी गरिरहेको बताए । उनले भने,‘चोरीको घटनामा संलग्नलाई हामीले खोजिरहेका छौ, चोरीमा एउटा समुह नै सक्रिय भएकोजस्तो देखिन्छ, ढिलोचाडो हामी पक्राउ गछौं । ’ उनले अनुसन्धानमा स्थानीय तहको मुख्य नाकामा सिसी क्यामेराको निगरानी नहुँदा चुनौती थपिएको बताए ।