रामेछापमा फेरि घर भासियो, बसपार्क क्षेत्रका बासिन्दा चिन्तित



१५ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका–१ स्थित फेरि एउटा घर भासिएको छ । केही समय अघि मन्थलीको बसपार्क नजिकै तीन तले पक्की घर भासिएको घटना सेलाउन नपाउदै फेरि अर्को घर पनि भासिएको हो । मन्थली नगरपालिका ट्राफिक बिट माथि रहेको गुम्बाको कम्पाउण्डभित्र रहेको एक तले पक्की घर भासिदा उक्त क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् ।

भासिएको घर पूर्ण रुपमा भासिएको अवस्थामा उक्त घर तल रहेको दुई वटा पक्की घरमा समेत क्षति पुग्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । उक्त घर भासिदा थप क्षति हुने भएकाले सम्भावित क्षति हुन नदिन नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको संयुक्त टोलीेले भासिएको घर भत्काएको छ ।

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले नगरपालिकामा यसअघि एउटा घर भासिएको र पुनः घर भासिदा आफूहरु चिन्तित रहेको बताए । उनले बसपार्क क्षेत्रमा घर भासिदै जाने संख्या बढेको अवस्थामा घर निर्माण गर्न कडाई गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्