अन्ततः शान्ति पौडेलले छोडे माधव नेपालको साथ
१५ भदौ, रामेछाप ।
बागमती प्रदेशका सांसद शान्ति पौडेलले अन्ततः अन्तिम समयमा आएर माधव कुमार नेपालको साथ छोडेका छन् । आज नेकपा एकीकृत समाजजवादी पार्टीमा ११ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेपनि सांसद पौडेल भने सहभागी भएनन् ।
२०७५ जेठ २ अघि नेकपा एमाले रामेछापका अध्यक्ष रहेका पौडेल नेकपा एसको पक्षमा सनाखत गर्ने बेलामा उनी हेटौंडा नगइ रामेछापतर्फ लागेका छन् । १० बुँदे सहमति कार्यन्वयन भएर आफू एमालेको अध्यक्षको भूमिकामा फर्किन पाइने भएपछि पौडेलले माधव समूह छाडेको बताएका छन् । उनले अब तत्काल नै एमाले जिल्ला कमिटीको बैठक बोलाउने तयारी गरेको रामेछाप न्युजलाई बताए ।
नेकपा एकतापछि माओवादीले अध्यक्ष पाउँदा पौडेल सचिव रहेका थिए । एमाले ब्युँतिएपछि उनी माधव नेपाल समूहमा रहेका थिए । एमालेले पुस ५ पछि नै तत्कालीन नेकपा ओली पक्षको अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरियालाई बनाएको थियो ।