सहकारीले उत्पादनलाई जोडेर लैजानु पर्छः अध्यक्ष तामाङ



३० भदौ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सहकारीलाई उत्पादनसँग जोडेर गाउँको विकास गर्न सकिने बताएका छन् । उनले आर्थिक समृद्धिको आधारको रुपमा सहकारी क्षेत्रको विकासबाट ग्रामिण क्षेत्रको विकास गर्न सकिने बताएका हुन् ।
खाँडादेवी गाउँपालिकामा आजबाट सुरु भएको सहकारी व्यवस्थापन सम्बन्धि तालिमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले अब सहकारीले ऋण प्रवाहसँग उत्पादनसँग जोडेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले भने,‘सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गरेमा गरिबी निवरणमा ठूलो योगदान दिन्छ ।’

परम्परागत सहकारी सञ्चालनबाट गाउँको विकास नहुने बताउदै गाउँको आवश्यकताको आधारमा सहकारीले योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सहकारी दर्ता मात्र ठूलो कुरा नभएको बताउदै अध्यक्ष तामाङ प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन महत्वपूर्ण विषय भएको बताए ।

उनका अनुसार खाँडादेवी गाउँपालिकाभित्र हाल २५ वटा सहकारी दर्ता रहेका छन् । गाउँपालिकाको विकास गर्न सहकारीसँग समन्वय गरेर काम गरिरहेको उल्लेख गर्दै तामाङले उत्पादनमुखी कार्यक्रम ल्याएको अवस्थामा गाउँपालिकाले हाल गर्दै आएको सहयोगलाई बढाउने बताए । उक्त तालिममा खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुङ्ग गाउँपालिका र सुनापति गाउँपालिकाका ३५ वटा सहकारीको प्रतिनिधि सहभागी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्