रामेछापमा कांग्रेसको विवाद मिल्योः असोज १० मा गाउँ/नगरको अधिवेशन हुने
८ असोज, रामेछाप ।
नेपाली कांग्रेसको गाउँ÷नगरको अधिवेशन असोज १० गते हुने कार्यतालिका सार्वजनिक गरेको छ । सुनापति गाउँपालिका–२ दिमीपोखरीको वडा अधिवेशनको विषयलाई लिएर भएको विवाद समाधान भएसँगै गाउँ नगरको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको हो ।
आज केन्द्रीय निर्वाचनका पदाधिकारीले यसअघि दिमीपोखरीको वडा अधिवेशनको क्रममा भएको मतदानलाई मान्यता दिने निर्णय भएसँगै जिल्लाको दुई नगरपालिका र छ गाउँपालिकाभित्र भित्र अब अधिवेशन हुने भएको हो ।
रामेछापका निर्वाचन अधिकृत विष्णु लुइँटेलले दिमीपोखरी वडाको विवाद समाधान भएसँगै आफूहरुले असोज १० गते गाउँ नगरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको रामेछाप न्युजलाई बताए । दिमीपोखरीमा यसअघि भएको निर्वाचनबाट भिम बहादुर थापामगर वडा सभापतिमा निर्वाचिन भएका थिए ।