फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय
२१ वैशाख, काठमाडौं ।
सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । विहिवार बसेको मन्त्रीपरिषद्को बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि दशैं खर्च, पोशाक भत्ता, औषधी उपचार खर्च दिने निर्णय गरेको छ ।
बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अरब रुपैंया ऋण लिने प्रस्तावलाई स्वीकृति दिएको छ ।बैठकले पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी नेपाली सेनाका विनायक सिंहलाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।
बैठकले साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको सम्मानद्घारा पुरस्कृत गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले सामान्य प्रशासन मन्त्री केशवकुमार विष्टको संयोजकत्वमा संघीय प्रशासनिक पूनर्संरचना समिति र काशीराज दाहालको नेतृत्वमा सहजीकरण समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।