एमालेका कार्यकर्ताले कुटदा सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा सदस्य अस्पताल भर्ना



७ कात्तिक, रामेछाप ।
राजनीतिक विषयलाई लिएर सुरु भएको विवादको कारण सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा सदस्य डेकबहादुर खड्काले एमालेका कार्यकर्ताबाट लात्ती खाएका छन् । शनिवार हिलेदेवीको साँदीडाडामा चिया खाइरहेको बेला सुरु भएको विवादले उग्ररुप लिएपछि नेकपा एमालेका कार्यकर्ता मुकेश योञ्जन (डिकलाल)ले वडा सदस्य खड्कामाथि लात्ती प्रहार गरेका थिए । लात्ती प्रहारको कारण खड्का अस्पलतामा भर्ना भएका छन् । खड्काले आफूमाथि कुटपिट गर्ने योञ्जनलाई पक्राउ गरी कारवाही गर्न प्रहरी समक्ष उजुरी दिएका छन् । चिया खाने क्रममा खड्काले योञ्जनमाथि तथानाम गालीगलोज गरेका थिए । दुई जनाबीच विवाद चर्किकै गएपछि रिसको आवेषमा योञ्जनले खड्कालाई लात्तीले हानेकाे बताइएकाे छ ।

नेकपा एमाले सुनापति गाउँकमिटीका अध्यक्ष ज्ञानकुमार योञ्जनले सामान्य विषयलाई माओवादीले अतिरञ्जित बनाएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हिजो सामान्य विवाद भएको हो, वडा सदस्य खड्का घाइते भएका पनि होइन, बिहान मिल्ने सहमति पनि भएको थियो, तर तिललाई पहाड बनाउन माओवादीले खड्कालाई काठमाडौं पठाउने काम ग¥यो ।’ उनले घटनालाई अनावश्यक रुपमा राजनीतिकरण गर्न आवश्यक नभएको बताउदै वडा सदस्यजस्तो जिम्मेवार व्यक्तिले संयमित भएर मात्र अभिव्यक्ति दिनुपर्ने बताए । ‘वडा सदस्य खड्काले गालीगलोज गर्न हुँदैनथ्यो, दोस्रो डिकलाले लाती हान्नु गलत हो’, उनले भने,‘गल्ती दुवै जनाको छ, अब मिलेर जानु पर्छ ।’

माओवादी हिलेदेवीका नेता समेत रहेका वडा सदस्य खड्कामाथि भएको कुटपिटको घटनाप्रति माओवादी सुनापति गाउँकमिटीेले आपत्ति जनाएको छ । योञ्जन केही समय अघि मात्र माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए । काठमाडौको मध्यपुर ठिमी अस्पतालमा भर्ना भएका खड्काको स्वास्थ्य अवस्थाको बारेमा सुनापति गाउँपालिका–३ हिलदेवीका वडा अध्यक्ष बाबुराम तामाङले जानकारी समेत लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले कुटपिटको घटनाको विषयमा वडा सदस्य खड्का र योञ्जन दुवै जनाले उजुरी दिएको बताए । उनका अनुसार कुटपिटको घटनाको विषयमा दुवै जनालाई बोलाएर मात्र थप प्रक्रिया अगाडि बढाउछौ ।प्रहरीका अनुसार खड्को अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्