कात्तिक २७ मा एमालेको महाधिवेशन प्रतिनिधि चयनः रामेछापबाट १६ जना प्रतिनिधि छनाेट हुने



१२ कात्तिक, रामेछाप ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन कात्तिक २७ गते हुने भएको छ । केन्द्रीय कमिटीको बैठकले कात्तिक २७ गते देशभर सबै जिल्लामा एकैसाथ प्रतिनिधि निर्वाचन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढाएको छ । केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले प्रतिनिधि बढाउन सुझाव दिएपछि करिब चार सय संख्या बढाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि स्थायी कमिटीले १ हजार ५ सय ३६ हुने निर्णय स्थायी कमिटीले गरेको भए पनि अब चार सय थपिँदा १ हजार ९ सय ९९ प्रतिनिधि हुने छन् । बैठकले बाँकी रहेका वडा र पालिका अधिवेशन चाँडै गर्न निर्देशन समेत दिएको छ ।एमालेको महाधिवेशन मंसीर १० देखि १२ सम्म हुँदैछ ।

यसैबीच एमालेको महाधिवेशनमा रामेछापबाट १६ जना प्रतिनिधि मात्र सहभागी हुन पाउने भएका छन् । रामेछापमा एमालेको ११ हजार संगठित सदस्य रहेका छन् । नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले १६ जना महाधिवेशन प्रतिनिधिमा चयन हुने रामेछाप न्युजलाई जानकारी दिए । महाधिवेशनमा सहभागी हुन पार्टीभित्र कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्