रामेछापमा अब विषादी किन्न तीन पुस्ते वितरण चाहिने
१५ कात्तिक, रामेछाप ।
विषादी सेवनबाट रामेछापमा आत्महत्या गर्ने क्रम बढेपछि प्रहरीले विषादी विक्रि वितरणमा कडा गरेको छ । आत्महत्याको घटना न्यूनिकरण गर्नको लागि प्रहरीले अबदेखि विषादी विक्रीवितरण गर्दा अनिवार्य रुपमा तीन पुस्ते वितरण राखेर मात्र विषादी दिन आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा सञ्चालित एक दर्जन भन्दा बढी कृषि तथा पुश उपचारमा संलग्न व्यवसायीहरुसँग छलफल गर्दै विषादी बेचविखनमा कडाई गर्न आग्रह गरेको छ । उक्त छलफलमा पशु तथा कृषि सम्बन्धी व्यवसायीहरुले किनारा पसलबाट समेत विषादी बेचविखन हुने गरेको गुनासो गर्दै प्रहरीले पनि ती पसलहरुमा निगरानी बढाउन सुझाव दिएका थिए ।
छलफलमा जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले इजजात विना नै विषादी विक्रिवितरण गर्नेमाथि प्रहरीले कडाइको साथ अनुगमन गर्ने बताए । उनले भने,‘जिल्लामा आत्महत्या गर्नेको संख्या बढदो छ, आत्महत्याको घटना न्युनिकरण गर्नको लागि विषादी विक्रीवितरणमा कडाई गर्नुपर्छ ।’
ढुंगानाले अबदेखि विषादी विक्रीवितरण गर्दा सम्बन्धित व्यवसायीले विषादी किन्ने व्यक्तिको तीन पुस्ती विवरण लिखित रुपमा राखेर मात्र विक्री गर्नुपर्ने बताए । प्रहरीका अनुसार रामेछाप जिल्लामा बार्षिक रुपमा ३० जना भन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्याङक रहेको छ ।