अब मन्थली–काठमाडौं नियमित उडान सञ्चालन गर्ने पर्यटन मन्त्री आलेको घोषणा



३० कात्तिक, रामेछाप ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रामेछापको मन्थली विमानस्थलबाट काठमाडौं अब नियमित उडान गर्ने बताएका छन् । उनले हाल मन्थलीबाट–लुक्ला मात्र उडान हुँदै आएको बताउदै मन्थली–काठमाडौं पनि नियमित उडान गर्ने बताएका हुन् । मन्त्री आलेले मन्थली विमानस्थलको स्तरोन्नति गर्दै नियमित उडान सञ्चालन गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।


नेकपा एकीकृत समाजवादीले रामेछापको खाँडादेवी गाउँपालिकाको गाल्बा बजारमा आयोजित वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले मन्थलीमा नेपाल एयरलाइन्सको नियमित उडान संचालन गर्ने प्रतिबद्धता जनाए । निगमको थन्किएर बसेका चीनियाँ जहाज मर्मत गरेर सञ्चालनमा ल्याएसँगै नियमित रुपमा एउटा फ्लाइट चल्नेगरी व्यवस्था मिलाउने बताउदै उनले निगमको सेवा विस्तारमा ध्यान दिएको बताए ।
त्यसैगरी मन्त्री आलेले रामेछापको पर्यटन क्षेत्रको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्थली विमानस्थल कालोपत्रे भएपनि लामो समयदेखि मन्थली–काठमाडौं उडान हुन सकिरहेको छैन् । रामेछापवासीले नियमित उडानको लागि माग गरेपनि अझै सुनुवाई हुन सकिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्