रामेछापमा महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु



९ मंसिर, रामेछाप ।

आजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको पहिलो दिन रामेछापको सदरमुकाम मन्थलीमा दिप प्रज्जवलन गरेर कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले आर्थिक उन्नति र शिक्षाको अवसरले महिलाको सशक्तीकरण हुने र यस अवस्थामा हिंसाका घटना कमी आउने बताए ।
नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरीसम्बन्धी मूल्यमान्यता, गाली, बेइज्जती, छुवाछूत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रूण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यस प्रकारका अपराध हुन नदिन नेपालको संविधानले विभिन्न अधिकारको व्यवस्था गरेको छ । महिलाको हक, शोषणविरुद्धको हक, छुवाछूत र भेदभावविरुद्धको हक, समानताको हक, न्यायसम्बन्धी हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्यरूपमा लिन सकिन्छ ।


सन् १९९१ देखि हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो ।
यस वर्ष मङ्सिर ९ गतेदेखि १६ दिनसम्म अभियान सञ्चालन हुनेछ । यस वर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्