रामेछापको पाँच स्थानीय तहमा माओवादीको भोली अधिवेशन हुँदै



१० मंसिर, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापले भोली जिल्लाको पाँच वटा स्थानीय तहमा गाउँ÷नगरको अधिवेशन गर्ने भएको छ । पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार तीन स्थानीय तह बाहेक पाँच स्थानीय तहमा भोली एकसाथ अधिवेशन हुन लागेको हो ।
सुनापति गाउँपालिका, दोरम्बा शैलुङ्ग गाउँपालिका, गोकुलगंगा गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा भोली एकसाथ हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानले प्राविधिक कारणले खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा केही दिनभित्र नै अधिवेशन सम्पन्न हुने रामेछाप न्युजलाई बताए । उनका अनुसार उमाकुण्ड गाउँपालिकामा मंसिर १२ गते, खाँडादेवी गाउँपालिकामा मंसिर १३ गते र लिखुतामाकोसी गाउँपालिकामा मंसिर १८ गते अधिवेशनको मिति तय गरिएको छ ।

मन्थली नगरपालिकाको अधिवेशनलाई माओवादीका नेता एवं रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, रामेछाप नगरपालिकाको अधिवेशनलाई संविधानसभाका सदस्य तारानारायण श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संयोजक मोक्तानका अनुसार जिल्लाको ६४ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । मन्थली नगरपालिकाको पुरानागाउँ वडा र दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर ६ को वडा अधिवेशन सम्पन्न भएपछि आन्तरिक विवादको कारण नयाँ नेतृत्व घोषणा हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्