एउटै मञ्चमा देखिए ओली–नेपाल र प्रचण्ड, बीचमा देउवा
२४ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उदघाटन सत्र अहिले राजधानी काठमाडौंको भृकुटीमण्डमा जारी छ । कांग्रेसका महाधिवेशनले ११ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई एउटै मञ्चमा देख्ने अवसर जुराइदिएको छ ।
तीन नेताको बीचमा भने प्रधानमन्त्री एवं कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा रहेका छन् । प्रचण्ड र नेपाल देउवाको दायाँपट्टी र ओली देउवाको बाँयापट्टी बसेका छन् । पार्टी विभाजन भएपछि तीन जना एउटै मञ्चमा देखिएको यो पहिलो पटक हो । पार्टी विभाजन भएपछि एक अर्कालाई आरोप प्रत्यारोप लगाउदै आएका तीन नेता एउटै मञ्चमा देखिए पनि बोलचाल भने भएको छैन् ।