आउदो वैशाख २० गते स्थानीय तहको निर्वाचन हुने



७ पुस, काठमाडौं ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो वैशाख २० गते सात सय ५३ वटै पालिकाको चुनाव गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । उनले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी वैशाखमा पालिकाको चुनाव गर्ने गरी गृहकार्य भइरहेको बताएका हुन् ।
पालिका सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उहाँहरूको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा चुनाव गर्न आयोग गम्भीर रहेको उनले बताए ।
थपलियाका अनुसार छिट्टै नै पालिका निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको छ । यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रपति, उपराष्ट्रपति पदको चुनाव सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरेको बताए । उनले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपमा कार्य गर्न आयोगलाई सहयोग गर्न आग्रह गरे ।
निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुई दिने ’निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’ मा उहाँले चुनाव आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्