एमाले रामेछापको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता
२४ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । आज बिहानदेखि सहमतिको प्रयास सफल हुन नसकेपछि निर्वाचन कमिटीले दिउसोबाट निर्वाचनको प्रक्रिया अगाडि बढाएको थियो । जस अन्तर्गत एमाले रामेछापका उपाध्यक्ष प्रेम बहादुर तामाङ, जिल्ला सचिव आनन्द श्रेष्ठ र उपसचिव झम्क कँडेलले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा उम्मेदवारी दिने चर्चा रहेपनि अन्तिम समयमा लव श्रेष्ठले भने उम्मेदवारी दर्ता गराएनन् ।
अध्यक्षका प्रत्यासी प्रेम बहादुर तामाङले आफूले उम्मेदवारी फिर्ता नलिने प्रतिक्रिया दिए । खाँडादेवी गाउँपालिकाका अध्यक्ष समेत रहेका तामाङले अब अध्यक्ष हुने पालो आफ्नो रहेको बताए । त्यसैगरी अध्यक्षका प्रत्यासी आनन्द श्रेष्ठले पनि उम्मेदवारी फिर्ता नलिने बताएका छन् । नेताहरुबीच सहमति नभएको अवस्थामा भोली बिहान ९ बजेबाट निर्वाचनको प्रक्रिया अगाडि बढने बताइएको छ । निर्वाचनमा ८ सय १४ जना मतदाताले मतदान गर्ने छन् ।