रामेछापमा आफैले पढाएको विद्यार्थीमाथि बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ



२६ पुस, रामेछाप ।
रामेछापमा पछिल्लो समय जबरजस्ती करणीको घटना बढदै गएको छ । जबरजस्ती करणीको घटनाबाट बालिकादेखि बृद्धासम्म अछुतो रहन सकिरहेका छैनन् । लिखुतामाकोसी गाउँपालिकामा श्रीमानको जुठो बारेर बसिरहेकी महिलामाथि बजरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेको घटना सेलाउन नपाउदै रामेछापमा फेरि शिक्षकबाटै बालिकामाथि जबरजस्तीकरणीको प्रयास भएको घटना बाहिरिएको छ ।

आफैले पढाएको विद्यार्थीलाइ कोठामा लगेर जबरजस्तीकरणी गर्न खोजेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । पीडित बालिकाले दिएको उजुरीको आधारमा मन्थली नगरपालिका–११ स्थित शारदा मावि गेलु सावाडाँडामा कार्यरत शिक्षक निनेश कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको  हाे ।

प्रदेश २ अन्तर्गत सप्तरी जिल्ला बलान बेहोल गाउँपालिका–२ स्थायी घर भइ  हाल शारदा माविमा कार्यरत ३८ बर्षिय गुप्तालाई कक्षा ९ मा अध्ययनरत बालिकामाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

शिक्षक गुप्ताले विद्यालयको बाटो हुँदै घर आउने क्रममा उत्तर पुस्तिका जाँच भइसकेको र हेर्न जाउ भनेर आफू बस्ने कोठामा लगेर आफ्नो संवेनशिल अंगमा समाएको पीडित बालिकाले प्रहरी समक्ष उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले बताए । पीडित परिवारले दिएको उजुरीको आधारमा आइतवार गेलबाटै शिक्षक गुप्तालाई पक्राउ गरी बाल यौन दुरुपयोग गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्