लिखु तामाकोसी गाउँपालिकाको एम्बुलेन्स बिरामी हुँदा बिरामीको ‘बिचल्ली’



८ माघ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाभित्र रहेका दुई वटा एम्बुलेन्स एकसाथ विग्रिदा गाउँपालिकाभित्रका बिरामीले सास्ती खेप्नु परेको छ । गाउँघरमा बिरामी बोक्ने एम्बुलेन्स भनेको बेलामा नपाउदा बिरामीका आफन्तले बोकेर अस्पताल लैजानेदेखि टयाक्टरमा समेत बिरामी लैजानु पर्ने बाँध्यता आइलागेको छ ।

गाउँपालिकाभित्र जनप्रतिनिधिको विवादको कारण गाउँपालिकाले नागरिकले दैनिक रुपमा पाउनु पर्ने सेवा सुविधाबाट समेत बञ्चित छन् । यतिसम्म कि यस आर्थिक बर्षको बजेट अहिलेसम्म खर्च हुन सकिरहेको छैन् । गाउँपालिकाले बिरामी बोक्नको लागि खरिद गरेको दुई वटा एम्बुलेन्स एक पटक बिरामी परेको छ । एउटा एम्बुलेन्स विग्रिएर मन्थलीमा रहेको छ भने अर्को काठमाडौंमा रहेको छ ।

दुई वटै एम्बुलेन्स नचल्दा गाउँपालिकावासी भने बिरामी अस्पताल लैजान ट्याक्टर समेत प्रयोग गर्न बाँध्य छन् । गाउँपालिकाले एम्बुलेन्स खरिद गरेपनि समिति नबन्दा बेथितिमै सञ्चालन हुँदै आएको एक वडा अध्यक्ष बताउन । उनले भने,‘हामीले थितिमा चलाउन खोज्यो तर सकेनौ, अहिले बिरामी बोक्ने दुवै एम्बुलेन्स थला परेका छ, गाउँका नागरिकले त कुरौ छोडौ, जनप्रतिनिधिले समेत अपठ्यारो पर्दा एम्बुलेन्स पाइएका छैनौं ।’

गाउँपालिकाबाट सदरमुकाम मन्थली र काठमाडौं लैजान अन्य सवारी साधनले मंहगो शुल्क लिने गरेका छन् । त्यो पनि भनेको बेलामा नपाउने अवस्था रहेको छ । शनिवार लिखुतामाकोसी गाउँपालिका–४ स्थित कल्लेरीमा सम्झना मगर बिरामी परिन । तत्काल अस्पताल लैजानु पर्ने भयो । आफन्तले एम्बुलेन्सको खोजी गरे ।

जवाफमा दुवै बिग्रिएको भन्ने मात्र पाए । त्यसपछि आफन्त मिलेर स्टेक्चरमै बोकेर धोवीसम्म ल्याएर बोलेरोमा राखेर उपचारको अस्पताल पठाए । स्थानीय विष्णु विक भन्छन–गाउँपालिकाको एम्बुलेन्स हामीले भनेको बेला अहिलेसम्म प्रयोग गर्न पाएका छैनौ ।’ उनका अनुसार आप्त पर्दा टयाक्टरमै राखेर समेत बिरामी अस्पताल लैजान गरिएको छ । कोभिडको बेला मोटरसाइकलमा तीन जनासम्म बसेर उपचारको लागि मन्थली लगिएको स्मरण गर्दै बिकले आफूहरुले पाउनु पर्ने एम्बुलेन्सको सेवा नपाएको गुनासो गरे ।

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले दुवै एम्बुलेन्स बिग्रिएर मर्मत भइरहेको जानकारी दिए । उनले गाउँपालिकाभित्र कोही बिरामी भएमा आफूलाई सम्पर्क आग्रह स्टेक्चरमा बिरामी बोकेर अस्पताल लगिएको बारे आफूलाई थाहा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्