स्थानीय तहको चुनाव घोषणा भएसँगै रामेछापमा राजनीतिक दलहरु चुनावी अभियानको तयारीमा
२४ माघ, रामेछाप ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछाप जिल्लामा पनि चुनावी महालो विस्तारै तातिन थालेको छ । चुनाव घोषणा भएसँगै राजनीतिक दलहरु उत्साहित भएका छन भने आगामी चुनावमा उठनको लागि दावीसहित भेटघाटलाई तीब्रता दिनेक्रम आजबाटै सुरु भएको छ ।
रामेछापको ८ वटा स्थानीय तह र ६४ वटै वडामा चुनावी हिसाब किताब सुरु हुन थालेको छ । नेकपा एमालेका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई स्वागत गर्दै आफने पार्टीले अब चुनाव केन्द्रीत कार्यक्रम बनाएर अभियान सञ्चालन गर्ने रामेछाप न्युजलाई बताए । उनले भने,‘संवैधानिक व्यवस्था अनुसार सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ, अब पार्टीले चुनाव अभियान सञ्चालन गर्छ ।’
रामेछाप जिल्लाभित्र चुनावी अभियानको बारेमा सबै पार्टीभित्र आन्तरिक गृहकार्यमा जुटने क्रम सुरु भएको छ ।नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले आफ्नो पार्टीले चुनाव केन्द्रीत कार्यक्रम बनाएर अब सबै वडामा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको रामेछाप न्युजलाई बताए । उनका अनुसार पार्टीको निर्देशन अनुसार जिल्ला पार्टीले कार्यक्रम बनाएर अभियान अगाडि बढाउँछौं ।
त्यसैगरी नेकपा माओवादी केन्द्र रामेछापका जिल्ला संयोजक मैन कुमार मोक्तानले चुनावी घोषणा हुनु सुखद विषय भएको बताउदै चुनावलाई सफल बनाउने गरी पार्टीले कार्यक्रम बनाउने रामेछाप न्युजलाई बताए । उनका अनुसार केही दिनभित्र नै पार्टीभित्र आन्तरिक छलफल गरेर कार्यक्रम तय गरिने जानकारी दिए ।