रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाले बनायो सुरक्षित आवास गृह



२८ माघ, रामेछाप ।
रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाले सुरक्षित आवास गृह भवन निर्माण गरेको छ । नगरपालिकाभित्र महिला हिंसामा परेका पीडित, अनाथ बालबालिका र हेरचाह नभएका वृद्धावृद्धको लागि लक्षित गरेर सुरक्षित आवास गृह निर्माण गरेको हो ।

नगरपालिकाले अपठ्यारोमा परेका नागरिकलाई सुरक्षित रुपमा राख्नुको साथै भवनलाई सीप विकास केन्द्रको रुपमा समेत विकास गर्ने उदेश्य राखेको छ ।
नवनिर्मित आवास गृहको शुक्रवार नगरपालिकाका उपप्रमुख सृजना खड्काले उदघाटन गरेकी छिन् । हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई तत्काल उद्दार गरेर राख्नको लागि आवास निर्माण गरिएको बताउदै खड्काले नगरपालिकाभित्रका अपठ्यारोमा परेका बालबालिकादेखि बृद्धाबृद्धसम्मलाई राख्न सकिने बताइन ।

करिब ८१  लाखमा निर्माण गरिएको आवास गृह दुई तलाको रहेको छ । तीन वटा कोठा र दुई वटा हल रहेको भवनमा हाल सीप सिकाईको कार्यक्रम सञ्चालन हुँदै आएको छ । रामेछाप नगरपालिकाको नगर गौरवको योजनाको रुपमा रहेको भवन निर्माण सम्पन्न भएसँगै नगरपालिकाभित्र विभिन्न कारणले पीडित भएकाहरुलाई तत्काल उद्दार गरेर राख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्