रामेछापमा डिएसपी ढुंगानाको १३ महिनाः यी हुन मुख्य पाँच उपलब्धि



२ माघ, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाको सरुवा भएको छ । १३ महिना रामेछापको कमाण्ड सम्हालेका ढुंगानाले आफ्नो कार्यकालमा कुनै पनि विवादित काम नगरेको र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर काम गरेका छन् । रामेछाप न्युजसँग कुराकानी गर्दै डिएसपी ढुंगानाले भने,‘नागरिकलाई केन्द्रमा राखेर प्रहरीले काम गर्ने हो, मैले पनि जिल्लाको जिम्मेवारी पाएपछि नागरिककै चाहना र भावना अनुसारको काम गरे ।’ आफ्नो कार्यकालको क्रममा भएका सबै घटनामा संलग्न दोषीलाई पक्राउ गर्न सफल भएको बताउदै प्रहरीले काम नगरेको गुनासो गर्ने ठाउँ नदिएको बताए ।


१३ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय रामेछापले आदलतबाट विभिन्न मुद्धामा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका ५७ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
अदालतको फैसलापछि फैसला कार्यान्वयनको क्रममा २०७७ माघ ९ गते देखि हालसम्म प्रहरीले उक्त फरार अभियुक्तहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डीएसपी ढुंगानाले बताए ।
ढंगानाका अनुसार पक्राउ परेका ५७ जनालाई कुल ४७ वर्ष सात महिना दुई दिन कैद सजाय र ४३ लाख ८५ हजार ९०५ रुपैँया जरिवाना भएको छ ।
यसै क्रममा २८ वर्ष देखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगरलाई घरभित्र डोकोमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । नीज सहित चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेका थिए ।
उक्त घटनाको मुद्धामा जिल्ला अदालदत रामेछापले २०५० फागुन १६ गते २० वर्ष कैद हुने फैसला गरेको थियो । सोही फैसलाको कार्यान्वयनको क्रममा प्रहरीले घटना घटेको २८ वर्षपछि गत पुस १३ गते मगरलाई पक्राउ गर्न सफल भएको हो ।
त्यस्तै उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा ४० लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौँ बस्ने ४४ वर्षीय श्रेष्ठलाई गत माघ ११ गते पक्राउ गरेको थियो ।
राकाथुम घटनाको सफल अनुसन्धान

सिन्धुली र रामेछाप जोड्ने खैरेनिघाट स्थित सुनकोशी पुलको ठेक्काको कमिसनको विषयमा विवाद हुदाँ रामेछापको राकाथुममा निखिल भनिने तिर्थमान दोङको हत्या भएको थियो ।दोङको २०६६ असोजमा हत्या भएको हो । काभ्रेको तेमाल गाउँपालिका घर भएका तिर्थमानलाई बोलाएर राकाथुमको पिपलबोटमा हत्या गरिएको सो घटना १२ वर्षसम्म गुपचुप रहेको थियो ।घटनाको अनुसन्धान गर्दै जादाँ हत्यामा संलग्न रहेका मुख्य अभियुक्त बावु ज्ञानबहादुर तामाङ र छोरा जयराम तामाङसहित पदमवीर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गत मङ्सिर ११ गते खाँडादेवी गाउँपालिका– १ राकाथुम घर भएका ५९ वर्षीय ज्ञानबहादुर र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । ज्ञानबहादुर घटनास्थलबाट र जयराम काभ्रेको धुलिखेलबाट पक्राउ परेका थिए । पदमवीर भने रामेछापबाटै पक्राउ परेका हुन् । जिल्ला अदालतले घटनामा संलग्न ज्ञानबहादुर र जयराम तामाङलाई पूर्पक्षको लागि कारागार चलान गरेको छ भने पदमवीरलाई धरौटीमा छोडेको छ ।
सफल डाँका अपरेशन
२०७८ भदौ ३१ गते बेलुका लिखु तामाकोशी गाउँपालिका–६, जामुनेस्थित चन्द्रबहादुर बुढाथोकीको घरमा लुटपाट भयो । चन्द्रबहादुरकी श्रीमती सुनीता र दुई छोरी मात्रै भएको समयमा डाँका समूहले भरुवा बन्दुकको कुन्दाले हिर्काएर र छुरी देखाएर आमा छोरी तीनै जनालाई घाइते बनाई सुनका गर गहनाका साथै नगद पैसा चोरी गरे ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट तत्कालै अनुसन्धान अधिकृत तथा घटनास्थल विशेषज्ञ र प्रहरी चौकी खिम्ति समेतको टोली घटनास्थल पुग्यो । घटनाको अनुसन्धान पछि प्रहरीले गत असोज ७ असोज गते लुटपाटमा संलग्न चारजनालाई पक्राउ ग¥यो ।
गोकुलगंगा गाउँपालिका–६ फर्पुका ३३ वर्षीय ठुला भन्ने मिलन तामाङ, २६ वर्षीय राहुल भन्ने लालबहादुर तामाङ, ३४ वर्षीय जंगे भन्ने आकाश तामाङ र १८ वर्षीय आशिष भन्ने भुमिराज तामाङ काठमाडौं र रामेछापका विभिन्न स्थानबाट पक्राउ परे । पक्राउ परेकाहरुले रामेछाप जिल्लाभरी संगठित रुपमा लुटपाट गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
नीज अभियुक्तहरुबाट लुटपाट गरिएका सुनका गहना र नगदसमेत प्रहरीले बरामद गरेको थियो । उक्त घटनामा जिल्ला अदालत रामेछापले तीनजनालाई कारागार र एक जनालाई बाल सुधार गृह चलान गर्न आदेश दिएको थियो ।

हिरासतमा स्वास्थ्य परिक्षण, टेलिभिजन र पुस्तकको व्यवस्था
रामेछाप प्रहरीले २०७८ असार २१ गतेबाट थुनुवा कक्षमा टेलिभिजन र पुस्तकको व्यवस्था गरेको छ । थुनुवाहरु सूचनाबाट ज्ञानमूलक विषयबस्तुमाथि अपडेट हुन् भन्ने उदेश्यका साथ दुईवटा थुनुवा कक्षमा टेलिभिजनसहित पुस्तकहरुको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यस्तै जिल्ला अस्पतालसँग समन्वय गरी हिरासत कक्षमै मासिक रुपमा थुनुवाहरुको स्वास्थ्य परिक्षण गर्ने गरेको ढुंगानाले बताए ।

नागरिक सहायता कक्षको स्थापना
प्रहरी कार्यालयमा आउने सेवाग्रहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले नागरिक सहायता कक्षा स्थापना गरेको छ । २०७८ साउन ३१ गते बाट नागरिकलाई सहज र सरल सुविधा तथा सेवा प्रदान गर्ने उदेश्यले नागरिक सहायता कक्षा स्थापना गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको आन्तरिक स्रोतबाट निर्माण गरिएको उक्त कक्षमा सेवाग्राहीको लागि टेलिभिजनको सुविधासमेत रहेको छ । प्रहरीकोमा आउने सेवाग्राहीलाई सहज होस् भन्ने हेतुले रामेछाप प्रहरीले नागरिक सहायता कक्षबाट छ वटा रङका कलर कोडेड कार्डसहितको सेवा सूचारु गरेकोे हो । कुन कामको लागि कुन कोठामा जाने भन्ने अन्योल हटाउन प्रहरीले सेवाग्राहीलाई रङका आधारमा सम्बन्धित कोठसम्म पु¥याउन कलर कोडेड कार्डसहितको सेवा सूचारु गरेको हो ।

प्रहरी कार्यालयको लागि सात रोपनी जग्गा
जिल्ला प्रहरी कार्यालय रामेछाप अन्र्तगतका विभिन्न प्रहरी चौकीहरुको कार्यालय स्थापनाको लागि सात रोपनी जग्गा प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी चौकी गोकुलगंगाको लागि तीन रोपनी, प्रहरी चौकी फुलासीको लागि तीन रोपनी र प्रहरी चौकी लुभुघाटको लागि एक रोपनी गरी जम्मा सात रोपनी जग्गा प्राप्त गरेको छ । प्रहरीले जिर्ण प्रहरी चौकीका कारण भाडामा बस्नुपर्ने अवस्था भएकाले कार्यालय स्थापना गर्नको निमित्त प्रहरीले जग्गा उपलब्ध गराउन पहल गरेको थियो । सोही अनुसार सात रोपनी जग्गा प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्