मन्थली अस्पतालमा पुनः सुरु भयो प्रसुती शल्यक्रिया, रामेछापवासीमा खुसीयाली
३ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली अस्पतालमा विगत डेढ बर्षदेखि रोकिएको प्रसुति शल्यक्रिया पुनः सुरु भएको छ । मन्थली नगरपालिकाको पहलमा विशषेज्ञ डाक्टरको अभावमा रोकिएको प्रसुति शल्यक्रियाको काम आजबाट सञ्चालनमा आएको हो । आज मन्थली अस्पतालमा डा. समिर क्षेत्रीसहितको टिमले मन्थली नगरपालिका–५ की २२ बर्षिय गर्भवती मनिषा थापा कार्कीको सफल शल्यक्रिया सम्पन्न गरेको छ ।
डा. क्षेत्री, डा. पारस श्रेष्ठ डा. नवराज श्रेष्ठ र डा. सरोज थपलियासहितको टिमले गर्भवती कार्कीको अप्रेसन गरेको छ । अप्रेसनमा संलग्न डा. क्षेत्रले हाल आमा र बच्चाको अवस्था राम्रो रहेको रामेछाप न्युजलाई बताए । उनले अब प्रसुतिको शल्यक्रियाको लागि राजधानी काठमाडौं जानु पर्ने अवस्था हटाउने बताए ।
अप्रेसनमा डाक्टरसहित असिस्टेन वेवेकानन्द यादव, स्टाप नर्स लक्ष्मी विकसहितको संलग्नता रहेको थियो ।मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फ्यालले लामो समयदेखि रोकिएको प्रसुती शल्यक्रियाको काम आजबाट पुनः अस्पतालबाट सुरु भएको बताए । उनले शल्यक्रिया नहुँदा गर्भवती महिलाहरुलाई काठमार्डौ लैजानु पर्ने बाँध्यता अब हटेको बताए ।
केही दिन अघि मात्र मन्थली नगरपालिकाको पहलमा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरउन्तती गर्दै मन्थली अस्पतालमा रुपान्तरण गर्न सफल भएको थियो । मन्थली अस्पतालमा हाल १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ ।