कुशेश्वर माविमा कार्यरत कार्यालय सहयोगी ज्ञान बहादुर श्रेष्ठ ‘ज्ञानदाई’को विदाईमा भावुक बन्यो विद्यालय



६ माघ, रामेछाप ।
कुनै पनि कार्यालय राम्रोसँग सञ्चालन हुनको लागि कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीको महत्वपूर्ण भूमिका रहन्छ । सकारात्मक परिवर्तन समुहिक प्रयासबाट मात्र सम्भव छ । २०१४ सालमा स्थापना भएको सुनापति गाउँपालिका–४ बेथानमा रहेको कुशेश्वर माध्यमिक विद्यालय सुनापति गाउँपालिकाकै जेठो विद्यालय हो । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु सांसददेखि नाम चलेका डाक्टर र अन्य सामाजिक क्षेत्रमा क्रियासिल छन् । विद्यालय स्थापना भएको यस अवधिमा विद्यालयबाट हजारौ विद्यार्थी उत्पादन गरिसकेको छ । भुईँ अर्थात चिलौनीको रुखको फेदबाट पठनपाठन सुरु भएको यस विद्यालयमा अहिले उच्च शिक्षा पठनपाठन हुँदै आएको छ । विद्यालयको भौतिक पूर्वाधार पनि व्यवस्थित बनेको छ ।

विद्यालयमा धेरै शिक्षक आउने जाने क्रम चल्यो । हजारौ विद्यार्थीले यस विद्यालयबाट उज्यालो भविष्यको बाटो पहिल्याए । यता २०३६ सालमा विद्यालयमा कार्यलय सहयोगीको रुपमा जागिर सुरु गरेका ज्ञान बहादुर श्रेष्ठले निरन्तर रुपमा ४३ बर्ष विद्यालयको सेवा गरेर अवकाश भएका छन् । २०१३ सालमा तत्कालिन बेथान गाविस–३ र हाल सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानमा जन्मिएका श्रेष्ठले ०२३६ सालबाट जागिर सुरु गरेका थिए । एउटै पदमा रहेर उनले ४३ बर्ष सेवा गर्दा उनमा धेरै स्मरणहरु पनि रहेका छन् । जागिरे जीवनमा श्रेष्ठले ८ जना प्रअसँग काम गरे ।

सबै प्रअसँग उतिकै विश्वास र भरोषाका सारथी बनेर काम गरेकै कारण शिक्षक र विद्यार्थीकाे मनमा  ज्ञानदाई’बाट उनी परिचित छन् । यति लामो समय सेवा गर्दा विद्यालयमा पैसा भन्दा पनि बढी विश्वास कमाउन सफल भएको श्रेष्ठले रामेछाप न्युजलाई बताए । उनले भने,‘जीवनमा पैसा मात्र सबै होइन रहेछ, विश्वास र माया पैसा भन्दा पनि ठूलो रहेछ, आज यही सम्पत्ती लिएर विद्यालयबाट अवकाश  भएकाे छु ।’ ०३६ सालमा उनले १ सय रुपैयाँबाट जागिर सुरु गरेको बताउदै  अवकाश हुने क्रममा  २० हजार ८ सय रुपैया तलब पाएको बताए ।

उमेर हदको कारण ६६ बर्षमा श्रेष्ठलाई विद्यालयले स सम्मान रुपमा विदाई गरेको छ । विद्यालयबाट विदाई हुँदा श्रेष्ठ निकै भक्कानीए । श्रेष्ठ भन्छन,‘विद्यालय मेरो घर भन्दा पनि बढी माया र लगानी रह्यो, छोडनु पर्दा निकै नरमाइलो लाग्यो ।’ आफू विद्यालयमा कर्मचारीको रुपमा नरहे पनि विद्यालयको हितको लागि आफू  जीवनभर लागि पर्ने अठोट उनले लिएका छन् । ज्ञानदाईको विदाईमा विद्यालयका शिक्षकहरु पनि भावुक बनेका थिए ।

कुशेश्वर माविका प्रअ कमानसिंह तामाङले विद्यालयको असल र सहयोगी कर्मचारीलाई विदा गर्नु पर्दा मन भारी भएको बताए । उनले भने,‘मैले विद्यालयमा अध्ययन गर्दा ज्ञान दाई नै कार्यालय सहयोगी हुनुहुन्थ्यो, अहिले यही विद्यालयमा पढेर प्रअ भएर ज्ञान दाईसँग काम गर्ने अवसर प्राप्त गरे ।’

प्रतिक्रिया दिनुहोस्