खाँडादेवी गाउँपालिकाको चिसापानीमा बन्यो जिल्लाकै नमूना सडक



२३ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको अधिकांश सडक कच्ची छन् । कच्ची मात्र छैन, ग्रेड नमिलाई खनिएका सडक धेरै उकालो पनि छ । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) विना नै अनुमानको भरमा खनिएका सडकको सबै भन्दा ठूलो मार सवारी साधनले झेल्दै आएका छन् । सडक धेरै निर्माण गरिएको छ । स्थानीय तहमा निर्माण भएका सडकलाई व्यवस्थित बनाउन स्रोत र साधनको अभाव पनि उत्तिकै छ । नागरिकबाट सडक स्तरउन्नतीको माग धेरै भएपनि स्थानीय तहले मुख्य सडक बाहेक सहायक सडकमा अझै लगानी बढाउन सकेको छैन् ।

कालोपत्रे गर्नका लागि बजेट धेरै लाग्ने भएकाले स्थानीय तहहरुले पछिल्लो समयमा ढुंगाको सोलिङ मार्फत सडकलाई बर्षाको समयमा पनि सहज रुपमा सवारी साधन सञ्चालन गर्न मिल्ने बनाउन थालेका छन् । रामेछापको आठ वटा स्थानीय तह मध्ये गोकुगंगा गाउँपालिकामा धेरै सडकमा ढुंगाको सोलिङ गरिएको छ । यसबाट अन्य स्थानीय तहले पनि सोलिङ गर्ने कामलाई अभियानकै रुपमा अघि बढाएका छन् ।

जिल्लाभित्र ढुंगाको सोलिङबाट सडक बनाउने क्रम बढदो छ । तर खाँडादेवी गाउँपालिका–३ भिरपानीको चिसापानीमा भने जिल्लाकै पृथक सडक निर्माणको काम सुरु भएको छ । ढुंगाको सोलिङबाट सडक निर्माण गरिए पनि त्यसको नियमित मर्मत सम्र्भार नहुँदा छोटो समयमा नै सडक बिग्रने हुन्छ ।

खाँडादेवी गाउँपालिकाको अ.सब–इन्जिनियर शुबास तामाङले जिल्लाभित्र सोलिङ माफर्त सडक निर्माण हुँदै आएपनि भिरपानीको चिसापानीमा भने फरक खालको अभ्यास सुरु गरिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘उकालो सडकमा सोलिङलाई टिकाउ र बलियो बनाउन, ठाउँठाउँमा आससीसी ढलान गरेर बीच भागमा ढुंगा सोलिङ गरेका छौ, यसबाट छोटो समयमा नै सडक विग्रनबाट जोगाउन सकिन्छ ।’

यस विधिबाट सडक निर्माण गर्दा बलियो र दिगो हुने बताउदै तामाङले गाउँपालिकाभित्र यो प्रविधिको पहिलो सडक भएको बताए । उनले भने,‘अब ग्रामिण सडकलाई बलियो बनाउन, यो प्रविधि प्रयोगमा ल्याउनु पर्छ, सोलिङले मात्र हुँदैन, सिमेन्टको प्रयोग गरेर बलियो बनाउन सकिन्छ ।’

हाल चिसापानीमा २२ मिटर सडक खण्डमा यो प्रविधि प्रयोग गरेर काम भइरहेको तामाङले जानकारी दिए । विगतमा आफूले गोकुलगंगा गाउँपालिकामा पनि सोलिङको काम गरेको बताउदै गाउँपालिकामा नमूनाको रुपमा यस प्रविधिलाई अघि बढाउदा राम्रो हुने उनले बताए । यस्तो सडक निर्माण गर्दा बर्षामा सडकलाई क्षतिबाट जोगाउनुको साथै बर्षाको समयमा सवारी साधन दुर्घटना हुनबाट जोगाउन सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्