खुर्कोटमा वेलिबृज निर्माणको प्रक्रिया अघि बढयो, भोलिबाट बेलिबृजको सामान ल्याइने



मधुसुदन रायमाझी

१६ असोज, रामेछाप ।सरकारले सुनकोसी नदीमा आएको भीषण बाढीले बगाएको रामेछाप–सिन्धुली जोडने खुर्कोटमा पुनः बेलिबृज निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । रामेछाप दोलखा, ओखलढंगा लगायतको जिल्लाको लागि आवतजावत गर्ने खुर्कोट पुल बाढीले बगाएपछि सो स्थानमा बेलिबृज निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलिबृज निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेसँग अब तत्काल काम अघि बढने भएको छ । बाढीले रामेछापतर्फको खण्डको पुल बगाए पनि पिलर भने जोगिएको छ । सोही पिलरबाटै पुनः सिन्धुलीतर्फ जोडने बृलिबृज निर्माण हुने भएको छ ।


ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङले खुर्कोटमा बेलिबृज निर्माण गर्नको लागि रक्षा मन्त्री मानवीर राईलाई भौतिक मन्त्रालयबाट भएको निर्णय बुझाएका छन् । मन्त्री तामाङले रामेछाप न्युजसँग भने,‘भोलिबाट बेलिबृजको सामान हेडौडाबाट ल्याउने काम सुरु हुन्छ, यसको लागि म भोलि हेडौडा जादैछु, खुर्कोटको पुल निर्माण गर्न करिब एक महिना समय लाग्छ ।’

सडक डिभिजन हेटौडा अन्तर्गत रहेको ५० मिटर लम्बाईकाे बेलिबृज ल्याएर खुर्कोटमा जडान गरिनेछ । बाढीले खुर्कोट र खैरेनीघाटको पक्की पुल बगाएपछि आजबाट मन्थली किर्नेटार दोलखा हुँदै काठमाडौं सिधा यातायात सञ्चालन भएको छ । रामेछाप–सिन्धुली जोडने सित्खाको पुल सञ्चालनमा रहेपनि नेपालथोक–चौकीडाँडा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेकाले सो सडक खण्ड सञ्चालन हुन सकिरहेको छैन ।

सडक विभागले अवरुद्ध सडकलाई सञ्चालन गर्ने गरी तीब्र गतिमा काम अघि बढाएको छ । ११ स्थानमा बाढीले बिपि राजमार्ग क्षति पुगेकाले दशै अघि नै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्