खुर्कोटमा बेलिब्रिज जडान गर्ने काम ८० प्रतिशत सकियो, शुक्रवारसम्म सञ्चालनमा ल्याउने तयारी



२८ असोज, रामेछाप ।
असोज ११ र १२ गते आएको सुनकोसीको बाढीले बगाएको रामेछाप–सिन्धुली जोडने खुर्कोटमा बेलिब्रिज जडान गर्ने काम ८० प्रतिशत सकिएकाे छ । शुक्रवारसम्म सञ्चालनमा ल्याउने गरि हाल बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ । नेपाली सेनाका अनुसार बेलिब्रिज जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको छ । बाढीले रामेछापतर्फको एक खण्ड पुल बगाएको थियो । सो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा नेपाली सेनाले हेटौडामा रहेको बेलिब्रिज ढुवानी गरेर हाल जडानको काम गरिरहेको छ ।

बेलिब्रिज जडानको काम आगामी शुक्रवारसम्म सम्पन्न गर्ने गरी काम अघि बढेको ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छारामले रामेछाप न्युजलाई बताए । उनले भने,‘बेलिब्रिजको २८ वटा पिस अपुग भएको छ, त्यो सामान सिराहबाट ल्याउने प्रक्रिया अघि बढाएको छौ, केही दिनभित्र सञ्चालन गर्न म भोलिबाट निर्माणस्थलमा खटिदैछु ।’ यस बेलिब्रिज सञ्चालनमा आएपछि सदरमुकाम मन्थली काठमार्डौ र तराईसँग सिधै जोडिनेछ । खुर्कोटको पुल नहुँदा हाल मन्थली चरिकोट र मन्थली सित्खा हुँदै सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्