निर्वाचनको लागि रामेछापमा १५ सय कर्मचारी,२२ सय सुरक्षाकर्मी परिचालन
७ मंसिर, रामेछाप ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा गरेको छ । निर्वाचनको लागि रामेछापको १९१ मतदान केन्द्र र ९० मतदानस्थलमा गरी १५ सय २८ कर्मचारी खटिएका छन् ।
मतदान अधिकृति, सहायक ममतदान अधिकृत र सहयोगी कर्मचारी गरी १५ सय २८ जना कर्मचारी सम्बन्धित मतदानस्थल र मतदान केन्द्रमा परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपेटिका, मतपत्र लगायत आवश्यक सामाग्रीहरु सम्बन्धित मतदान अधिकृत र सहायक मतदान अधिकृत मार्फत पठाइएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले जानकारी दिए । मतदान अधिकृत र सहकाय मतदान अधिकृत मार्फत मंसिर ८ र ९ गते सम्बन्धित मतदान केन्द्रबाट स्थानीय तहको निर्वाचनमा लिन छुटेका र नयाँ थपिएका मतदाता परिचयपत्र वितरण हुनेछ ।
त्यसैगरी जिल्ला सुरक्षा समितिका मंसिर १० गते हुने निर्वाचनको लागि २२ सय सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्लाको अतिसंवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन तहमा मतदान केन्द्रको वर्गीकरण गरी सुरक्षाकर्मी परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामेछोने जानकारी दिए । उनका अनुसार रामेछापको ८ स्थानीय तह अन्तर्गत रहेका ६४ वडाभित्र रहेका विभिन्न मतदान केन्द्र र मतदानस्थलमा सुरक्षाकर्मी पुगिसेका छन् ।