गाँठो आफैं फुक्नेछ, बादल आफैं फाट्नेछ
नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने र चुनावमा वाम गठबन्धन गर्ने घोषणा भएपछि मुलुकको राजनीति तरंगित हुँदै विकल्पमा लोकतान्त्रिक गठबन्धनसमेत घोषणा हुन पुग्यो। दुई कम्युनिस्ट पार्टी गठबन्धन घोषणा, संयुक्तरूपमा घोषणापत्र र उम्मेदवार चयनपश्चात् कैयन् वाम लोकतान्त्रिक, राष्ट्रवादी र देशभक्त शक्ति यो गठबन्धनलाई समर्थन गर्दै कोही माओवादीसँग त कोही एमालेसँग मिल्न पुगे।
प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचनमा अत्यधिक संख्यामा एमाले–माओवादी उम्मेदवार विजयी भए। समानुपातिकतर्फ तालमेल नभएकाले ठूलो संख्यामा मत बदर भएकाले अरू १२ सिट जतिमा नोक्सान हुन पुग्यो। चुनाव अवधिभर संयुक्त चुनावी परिचालन र प्रचण्ड–केपीद्वारा विभिन्न आमसभामा भएको संयुक्त सम्बोधनले चुनावी अभियान नै एउटै पार्टीको जस्तो हुन पुगेको थियो। जनता र कार्यकर्ताको यो उत्साहसामु सम्पूर्ण गैरवाम शक्तिहरूको गतिविधि नै निस्तेज हुन पुग्यो।
जनता यतिविधि उत्साहित किन भए ? यो गठबन्धनबाट वामहरूको बहुमत आउँछ भनेर मात्र होइन। किनकि विगतका संविधानसभामा नै वामहरू बहुमतमा थिए र पनि स्थिर सरकार प्राप्त भएन। तर यसपटक कम्युनिस्ट पार्टी एकीकृत हुने घोषणा र विश्वासले नेपाली जनता स्थायी सरकार गठन भई राजनीतिक स्थायित्व प्राप्त हुन्छ र देश समृद्धिको बाटोतर्फ अगाडि बढ्छ भन्ने विश्वास गर्न पुगे। नेपालमा राजनीतिक अस्थिरता र आर्थिक अवन्नति हुनुको प्रमुख कारण बाह्य शक्तिहरूको हस्तक्षेपबाट हो भन्ने छर्लंगै छ।
सत्तामा वामशक्तिको दरो उपस्थितिले मात्रै राजनीतिक स्थिरता प्राप्त हुन्छ र मुलुक समृद्धितर्फ अगाडि बढ्छ भन्नेमा बहुसंख्यक नेपाली विश्वस्त छन् भन्ने चुनावी परिणामले पनि देखाएको छ। मजबुत र स्थिर सरकार बन्ने कुराको ग्यारेन्टी संसद्मा वाम पक्षको बहुमतबाट हैन, एकीकृत कम्युनिस्ट पार्टी निर्माणबाट मात्रै सम्भव हुन्छ भन्नेमा नेपाली जनमत विश्वस्त हुन पुगेको छ। चुनावपछि बजारमा चलेका विभिन्न हल्लाले एमाले–माओवादी पार्टी एकीकरण धरापमा पर्न गएको त हैन भन्ने आशंका पैदा भएको छ। तर दुई पार्टीको नेतृत्व कति अगाडि बढिसकेको छ भने प्रचण्डले भनेजस्तै पछि फर्कने पुल नै भत्किसकेको छ।
शताब्दीऔंदेखि नै नेपाली जनता र नेपाल राष्ट्र आन्तरिक उत्पीडन र बाह्य हस्तक्षेपको चक्रमा पिसिएकाले माथि उठ्न नसकेको हो। वर्गीय, जातीय, सांस्कृतिक र लैंगिक विभेदबाट मुक्त हुने गरी सामाजिक–राजनीतिक संरचना बदल्ने गरी आन्तरिक संघर्ष र बाह्य हस्तक्षेपबाट मुक्त हुने गरी राष्ट्रवादी राजनीतिक अडान, कांग्रेसलगायत अन्य दक्षिणपन्थी पार्टीबाट नभई कम्युनिस्टहरूकै नेतृत्वमा सम्भव भएको नेपाली जनताले अनुभूत गरे।
राजतन्त्र विस्थापित गरी गणतन्त्र स्थापना, प्रतिनिधिमूलक प्रजातन्त्रको ठाउँमा समावेशी लोकतन्त्र र केन्द्रीकृत राज्यको ठाउँमा संघीय प्रणालीतर्फको मुलुकको यात्रा तय गरिनुमा प्रचण्ड नेतृत्वको माओवादी आन्दोलनलाई बढी जस जान्छ। पछिल्लो कालमा बाह्य हस्तक्षेपविरुद्ध आत्मनिर्णयको रक्षा गर्दै भारतवेष्ठित अवस्थाबाट मुक्त गरी नेपालको बाह्य सम्बन्ध फराकिलो पार्ने र नेपालको विकास निम्ति दूरगामी महŒवको चीनसँगको सम्झौता निम्ति ओली नेतृत्वको सरकारलाई बढी जस जान्छ।
नेपाली राज्य र समाजको आमूल पुनर्संरचनाको मार्गप्रशस्त गर्नेमा नेतृत्वदायी भूमिकामा प्रचण्ड देखिन्छन् भने बाह्य हस्तक्षेपविरुद्धको दृढ अडानमा केपी ओली देखिएका छन्। कम्युनिस्ट आन्दोलनका यी दुई पात्रकै मुख्य भूमिकाको कारण परिवर्तनकारी र राष्ट्रवादी शक्ति कम्युनिस्ट हुन् भन्ने तथ्य आम जनतासामु स्थापित हुन पुगेको छ। यी दुईको एकता र समझदारी नेपाली राजनीतिलाई ठीक दिशामा गति दिने अनिवार्य सर्त बन्न पुगेको छ।
टाउको गनेर र पार्टीको आकारका आधारमा प्रचण्डको भूमिका र व्यक्तित्वलाई सीमित गरिनु गम्भीर भूल हुनेछ। २०४७ को प्रजातन्त्रलाई विस्थापित गर्दै २०६३ पछिको लोकतान्त्रिक बाटोमा मुलुक हिँडिरहेछ। अहिले नेपाली राजनीतिमा स्थापित कैयन् एजेन्डा विगतमा प्रचण्ड नेतृत्वको माओवादी आन्दोलनका एजेन्डा थिए भन्ने सत्यलाई नजरअन्दाज गरिनु हुँदैन। विभिन्न कारणले पटकपटकको पार्टी विभाजनबाट खुम्चिन पुगेको माओवादीको साइजमा प्रचण्डको राजनीतिक साइजको न्यूनीकरण हुन सक्दैन।
जस्तो, दोस्रो विश्वयुद्धको समाप्तिपछि बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको पराजयको गणितमा उनले दोस्रो विश्वयुद्धताका हिटलरको पराजय निम्ति खेलेको भूमिकालाई सीमित गर्न सकिँदैन। च्याम्बर लिन बेलायती प्रधानमन्त्री हुँदा हिटलरलाई थामथुम पार्ने नियतले गरिएका ढुलमुले कामले नाजीको विस्तारलाई मद्दत पुग्यो भने बेलायती सत्तामा नेतृत्व परिवर्तन भई उनको ठाउँमा चर्चिल प्रधानमन्त्री बन्नासाथ नाजी विरुद्धको लडाइँमा बेलायत दृढताका साथ उभिन पुग्यो। विगतमा एमालेको छवि ढुलमुल, अस्पष्टजस्ता उपमाले सिँगारिएको थियो भने केपी पार्टी नेतृत्वमा आएपछि उनले लिएका स्पष्ट र दृढ अडानले एमाले मात्रै हैन, सिंगो कम्युनिस्ट आन्दोलनलाई नै राष्ट्रवादी छविमा उभिन बल पुग्यो।
प्रचण्ड र केपी नेपाली समाजमा रहेको आन्तरिक उत्पीडन र बाह्य हस्तक्षेपविरुद्ध संघर्षको राजनीतिक प्रवृत्तिका प्रतिनिधि पात्र हुन्। यो प्रवृत्तिको अभिभाज्य रूप नै नेपाली राजनीतिलाई सही दिशामा अघि बढाउने अनिवार्य सर्त हो। अहिले देख्न बुझ्न सकिने गरी प्रचण्डमाथि बाह्य दबाब र ओलीमाथि पार्टीभित्रको आन्तरिक खेलो फड्कोको दबाबले पार्टी एकतामा समस्या खडा भएको देखिन्छ। जसरी ओली–प्रचण्डको विकल्प खोज्ने फजुल गफ हो, त्यसरी नै ओली–प्रचण्डलाई विभाजित रूपमा उभ्याउने कुरा जनविरोधी हुनेछ।
इतिहासको आवश्यकताले ओली–प्रचण्डलाई एक ठाउँमा ल्याइपुर्याएको छ। नायकहरूमार्फत नै इतिहासले कहिलेकाहीं बोल्ने गर्दछ। शताब्दीऔंदेखिको नेपाल र नेपालीको उत्पीडनको आवाजलाई सम्बोधन गर्न ओली–प्रचण्ड विभाजित हैन, एकाकार हुनुपर्छ। यी दुई नेताबीच आपसी विश्वास रह्यो भने गाँठो आफैं फुक्नेछ, बादल आफैं फाट्नेछ। यी दुई नेताको आपसी विश्वासमा कम्युनिस्ट आन्दोलनको प्रतिष्ठामात्रै अडेको छैन, नेपाली जनता र नेपाल राष्ट्रको भाग्य र भविष्य पनि अडेको छ। यी दुईले इतिहासको पदचाप तथा जनता र राष्ट्रको स्पन्दन बुझेर काम गर्नुपर्छ, जनताको विश्वासमाथि धोका दिनु हुँदैन।
(लेखक नेकपा माओवादी केन्द्रका नेता हुन)