सात वैटै प्रदेशमा यसरी चयन हुँदै छन सभामुख



२१ माघ,काठमाडौ ।
संविधान अनुसार सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ ।
प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटौडामा सम्पन्न भइसकेको छ ।
संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो कार्यसूची बनाएका छन् ।

। प्रदेशसभा सचिवालयका अनुसार आज प्रदेश नं २, ५, ६ र ७ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएको छ । सबै प्रदेशसभाको बैठकले सभामुख चयनको कार्यसूची तय गरेको छ ।

यही माघ १८ गतेको बैठकले प्रदेश ३ को सभामुख चयनका लागि माघ २७ गतेको मिति तय गरिएको छ । आज बसेको प्रदेशसभाको बैठकले प्रदेश १ माघ २९ गते, प्रदेश २ आगामी फागुन २, प्रदेश ४ मा आगामी फागुन ३ ९सम्भावित०, प्रदेश ५ आगामी फागुन २ गते, प्रदेश ६ मा माघ २९ र प्रदेश ७ माघ २९ गते सभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ ।

एमाले र माओवादीबीच भएको सहमतिअनुसार प्रदेश नं १, ३, ६ र ७ को सभामुखमा एमालेले उम्मेदवारी दिनेछ भने प्रदेश नं ४ र ५ मा भने माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

प्रदेश नं १ को सभामुखमा एमाले र उपसभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने सहमति यसअघि नै भएको छ । प्रदेश नं २ मा भने राष्ट्रिय जनता पार्टीले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । सो प्रदेशमा मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालले दाबी गरेको छ ।

प्रदेश नं ३ को सभामुखमा हालका ज्येष्ठ सदस्य डोरमणि पौडेलको सम्भावना नै बढी रहेको एमाले नेताहरुको भनाइ छ । सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको सो प्रदेशमा यही माघ २७ गते सभामुख चयन गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रदेश नं ४ मा माओवादी केन्द्रका तर्फबाट पूर्वमहिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । यस्तै गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित लेखबहादुर थापाले पनि सभामुखका लागि आकांक्षा व्यक्त गर्नुभएको छ ।

यस्तै प्रदेश नं ५ मा मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको सन्दर्भमा गुल्मीबाट निर्वाचित सुदर्शन बराल, पूर्व रुकुमबाट निर्वाचित पूर्ण घर्तीले इच्छा व्यक्त गर्नुभएको छ । त्यस्तै, रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुखका लागि इच्छा व्यक्त गरेको भए पनि पार्टीले गर्ने निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्ने उहाँहरुको भनाइ छ ।

प्रदेश नं ६ को मुख्य मन्त्री माओवादी केन्द्रले पाउने सहमति भएकाले सभामुखमा एमाले हालसम्म आधिकारिक उम्मेदवार टुंगो लगाएको छैन । सो प्रदेशमा मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका तर्फबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी चर्चामा हुनुहुन्छ । पार्टीले गर्ने निर्णयलाई स्वीकार गर्ने शाहीको भनाइ छ ।

यस्तै प्रदेश नं ७ मा पनि मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेकाले सभामुखमा एमालेको तर्फबाट नै उम्मेदवारी दिने तयारी छ । एमालेको तर्फबाट कञ्चनपुरबाट निर्वाचित तारालाल तामाङ, बझाङबाट निर्वाचित अर्जुन थापाको चर्चा रहेको छ । तर आधिकारिक निर्णय भने हुन बाँकी रहेको छ ।मुख्यमन्त्रीमा भने माओवादी केन्द्रले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्