रामेछापको गोकुलगंगा गाउँपालिकामा पहिलो पटक खुल्यो बैंक



२४ माघ, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा पहिलो पटक बैंक सञ्चालनमा आएको छ । स्थानीय तहको निर्वाचन भए लगत्तै सरकारले प्रत्येक स्थानीय तहमा बैंक स्थापना गर्ने निर्णय गरे अनुसार गोकुलगंगा गाउँपालिकाको रस्नालुस्थित भिमसेनथानमा बैंक सञ्चालनमा आएको हो । गाउँपालिकामा पहिलो पटक सिद्धार्थ बैंकले शाखा स्थापना गरेर कारोबार सुरु गरेको छ ।
अब गाउँपालिकाले सिद्धार्थ बैंकमा नै खाता सञ्चालन गर्ने र उपभोक्ता समिति गठन गर्नको लागि घण्टौ धाएर जिल्ला सदरमुकाम मन्थली जानुपर्ने बाँध्यता हटेको छ । रामेछापको आठ वटा स्थानीय मध्ये दुई रामेछाप र मन्थली नगरपालिकामा यस अघि नै बैंक स्थापना भएर सेवा दिदै आएका छन् ।

गोकुलगंगा गाउँपालिकामा बैंक स्थापना भएर कारोबार सुरु गरेपनि रामेछापको पाँच वटा गाउँपालिकामा भने अझै बैंक सञ्चालनमा आउन सकेको छैन् । बैंक नहुँदा गाउँपालिको काम समेत प्रभावित हुँदै आएको छ ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले बैंक सञ्चालनमा आएपछि दैनिक कामकाज गर्न अब मन्थली धाउनु पर्ने बाँध्यता हटेको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले सुरुदेखि नै पहल गर्यौ सिद्धार्थ बैक पनि हाम्रो गाउँपालिकामा आउन तयार भयो, हामीले आवश्यक सहयोग पनि गर्यौ, अब गाउँपालिकाको बैंक मार्फत हुने काम गाउँपालिकाबाटै हुन्छ ।’
गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ५ नामाडीका वडा अध्यक्ष बलराम खड्काले बैंक स्थापना भएपछि स्थानीयबासीले परिवर्तनको महशुस गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकामा अझै धेरै सेवा सुविधाको विस्तार गर्नुपर्ने छ, बैंक हाम्रो लागि निकै आवश्यकता थियो, जुन काम हाम्रो पहलमा पूरा भएको छ ।’
सिद्धार्थ बैंक गोकुलगंगा गाउँपालिका शाखाका प्रमुख सविन बन्जराले पहिलो पटक गाउँमा बैंक खुल्दा स्थानीयले अब सहज रुपमा सेवा पाइने भन्दै उत्साहित र खुसी रहेको रामेछाप न्युजलाई जानकारी दिए ।

बैंक नहुँदा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु घण्टौ धाएर सदरमुकाम मन्थली जानु पर्ने बाँध्यता थियो । तर बैंक स्थापना भएपनि अब सामाजिक सुरक्षा भक्तादेखि उपभोक्ता समितिले पनि गाउँमा नै स्थापना भएको बैंकबाट खाता सञ्चालन गर्नेछन् । गोकुलगंगा गाउँपालिकाबाट सदरमुकाम मन्थली झण्डै ७० किलोमिटरको दुरीमा रहेको प्रवक्ता खड्काले बताए ।
बैंक स्थापना भएसँगै गोकुलगंगा गाउँपालिका बासिन्दामा खुसीयाली छाएको स्थानीय शान्ति सुनुवारले बताए । उनले भने,‘सानो कामको लागि पनि मन्थली र काठमाडौं धाउनु पर्दथ्यो अहिले गाउँमै बैंक आयो हामी निकै खुसी छौं ।’

गोकुलगंगा गाउँपालिबाट वैदेशिक राजगारीमा विभिन्न देशमा रहेकाहरुले पनि अब सिधै गाउँकै बैंकमा खाता खोलेर पैसा जम्मा गर्न सक्ने बन्जराले जानकारी दिए । गाउँपालिका अध्यक्ष सुनुवारले रामेछाप न्युज भने,‘अब विदेशबाट आइएमी गरेर पनि गाउँमा पैसा पठाउन सकिन्छ, त्यो व्यवस्था पनि बैंकले गर्छ ।’

प्रतिक्रिया दिनुहोस्