दुम्जा दारिमबोटका बालबालिकालाई न्यानो पोशाक
१४ मंसिर, सिन्धुली (दुम्जा) ।
सिन्धुली जिल्ला कुशेश्वर दुम्जा–४ दारिमबोटस्थित नेपालथोक प्राथमिक विद्यालयका बालबालिकालाई लायन्स क्लव अफ काठमाडौं ३२५ ए १ अन्तर्गतको एलसी केटिएम श्री गणेशद्वारा न्यानो कपडा (स्वेटर, टोपी), झोला र स्टेशनरी वितरण गरिएको छ ।
विद्यालयका ६५ जना छात्रछात्रालाई क्लवका सदस्यहरुले रकम संकल गरी सहयोग गरिएको प्रेसिडेन्ट रमेश थापा क्षेत्रीले बताए । स्वेटर, टोपी, झोला, कपी, पेन्सिल, इरेजर, सार्पनर बितरण गरिएको उनले बताए । कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर कुमार राज सुवेदीले बालबालिकाको शिक्षा लगायत सहयोगको क्षेत्रमा लायन्स क्लवले लाखौं सदस्यमार्फत् कार्य गर्दै आएको बताए ।
सो अवसरमा डिस्ट्रिक्ट चियर पर्सन खेम कुमार बुढाथोकी, चार्टर प्रेसिडेन्ट बिकास सिवाकोटी, फस्ट भाइस प्रेसिडेन्ट बीपी शर्मा, सेकेन्ड भाइस प्रेसिडेन्ट रमेश नेपाल, ट्रेजरर ममता ताम्राकार, डाइरेक्टर केदार कोइराला, सदस्य अनुराधा राजवंशी र नेत्र राईले बालबालिकालाई सहयोग वितरण गरेका थिए ।
विद्यालयकी प्रधानाध्यापक चन्द्रकला ठकुरीका अनुसार सो विद्यालयमा ९५ प्रतिशत दलित र जनजातिका बालबालिका अध्ययन गर्छन् । पर्याप्त भवन, शौचालय र खेल मैदानको अभावले पठनपाठनमा समस्या परेको प्रअ ठकुरीले बताइन ।