डा. गोविन्द केसीले २२ दिनमा तोडे अनसन
१९ मंसिर, काठमाडौं ।
वरिष्ठ चिकित्सक गोविन्द केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच शनिबार राति भएको १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।आइतबार डा. केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यससँगै वरिष्ठ चिकित्सक केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन्। लामो समय अनसन बस्दा गलेका केसीले अनसनस्थलमा जुस पिएका छन्।डाक्टर केसीलाई सिन्धुपाल्चोकका बालक मार्सङ तामाङले जुस पिलाए। महाभूकम्पमा परी अामा-बाबु गुमाएका तामाङको हातबाट केसीले जुस पिएका हुन्।
शनिबार राति त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया लगायत पदाधिकारीको योग्यता, कार्यक्षमता र उनीहरूमाथि लागेको अनियमितता आरोपमा छानबिन गर्न दुई साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सहमतिलगायत सहमति भएको थियो।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न दसौंपटक अनसनमा बसेका डा केसी र सरकारी प्रतिनिधिबीच शनिबार पटक–पटक भएको वार्तापछि राति ११ बजेतिर बाह्रबुँदे सहमति भएको थियो।