विवादमा मन्थली नगरपालिकाः अभियानको नाममा सरकारकै विरोध गरेको आरोप
११ मंसिर, रामेछाप ।
देशभर कञ्चपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । सरकारको विरोध भइरहेको बेला स्थानीय सरकार मन्थली नगरपालिकाले पनि सरकारको विरुद्धमा निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कार्यक्रम आयोजना गरेपछि विवादमा तानिएको छ ।
१६ दिने महिला हिंसा अभियान अन्तर्गत मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सरकारको विरोध गर्दै निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै देवकोटा चोकमा दिप प्रज्वलन गरेको थियो ।
नगरपालिकाले गरेको कामप्रति सत्तारुढ दल नेकपाले आपत्ति जनाएको छ । नेकपाले निर्मला पन्तको परिवारले न्याय पाउनु पर्ने विषयमा विवाद नभएपनि स्थानीय सरकार नै सरकारको विरुद्धमा उभिनु गलत कदम भएको बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता आनन्द श्रेष्ठले नगरपालिकाले निर्मला पन्तको फोटो राखेर लैंग्कि हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गर्नु संघीय सरकारको विरोध गर्नु भएको बतउनुभयो । ‘निर्मलाको आत्माले शान्ति पाउँदैन तब सम्म, हत्याराले सजाय पाउँदैन जब सम्म ’ नारा सहित निर्मला पन्तको फोटो राखेर मन्थली नगरपालिकाले अभियानको आयोजना गरेको थियो ।
सरकारले छानविनको काम गरी रहेको बेला सरकारी लोगो राखेर नगरपालिकाले यस्तो कार्यक्रम गर्नु उचित हुँदैन, नेता श्रेष्ठले रामेछाप न्युजसँग भन्नुभयो,‘हत्यारा पत्ता लगाउनु पर्छ, दोषीलाई सजाय दिनु पर्छ, तर यसरी एक सरकारले अर्को सरकारको विरोध गर्नु ठिक हैन् ।’
अभियानमा नागरिक समाज, गैरसरकारी संघसंस्था, राजनीतिक दल लगायतले साथ दिन मिल्ने भए पनि एक सरकारले अर्को सरकारको विरोध गर्ने तरिकाले कार्यक्रम गरिकाले अबका दिनमा नगरपालिकाले विचार गर्न पनि चेतावनी दिनुभयो ।