सित्तैमा आँखा देख्न पाएपछि चकित परे भण्डारी
रामचन्द्र वि.क.
१५ मंसिर, रामेछाप । छोराछोरी जन्मेपछि आमाबाबुले भन्ने गर्छन–बुढेसकालको साहारा यही हो । तर त्यो हैन रहेछ । उनीहरुको साहरा त संसार देख्ने आँखा पो रहेछ । रामेछापको मन्थली नगरपालिका–१२ का ८० बर्षका खड्ग बहादुर भण्डारीले दुबै आँखाले नदेखेको करिब चार बर्ष भएको थियो । उनलाई लाग्थ्यो अब यो संसारमा आफ्नो कोही छैन्, तर चार वर्षपछि उनको साहारा बन्यो रामेछाप सामुदायिक आँखा केन्द्र मन्थली ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको प्राविधिक सहयोगमा रामेछाप सामुदायिक आँखा केन्द्र लगायतको आयोजना गरेको आँखको मोतिबिन्दुको शल्यक्रियामा उनको दुबै आँखाको अप्रेसनपछि अहिले फेरी संसार देख्न पाएकोमा खुसी ब्यक्त गर्दै आफ्नो साहारा आँखा केन्द्र भएको बताए । भण्डारीले भने, ‘आँखा नदेख्दा संसार हराएको जस्तो लाग्थ्यो तर, होइनरहेछ ।’ संसार हुँदाहुदै पनि आँखाको उपचार गर्दा निको हुने कुरा थाहा नपाएको कारण यतिबेला सम्म अन्धकारमै बस्नु परेको पीडा सुनाउँदै भण्डारीले आँखा देखाइदिने सहयोगी संस्थालाई धन्यबाद दिए ।
त्यस्तै उमाकुण्ड–७ भुजीका ७१ वर्षिय सुर्जे राई पनि एक वर्ष अघि तिलगंगामा एउटा आँखाको शल्यक्रिया गर्दा राम्रो देखिएकाले अर्को आँखाको शल्यक्रिया गर्न आएको बताए । उनले भने, एक वर्ष पहिल लिगंगामा गएर अप्रेशन गर्दा राम्रै देखेँ अनि अर्को पनि गर्न आएको । तिलगंगामा ५० देखि ६० हजार खर्च भयो, यहाँ दुई हजार मात्रै लग्यो, दुई हजारमा गर्न पाउँदा सित्तैमा गर्न पाएँ, धेरै पैसा जोगियो ।
रामेछाप सामुदायिक आँखा केन्द्र मन्थलीमा जिल्लाको विभिन्न ठाउँमा आँखाका मोतिबिन्दुका विरामीको छनौट शिविर संचालन गरी ल्याइएका विरामीहरु र ग्रामिण इलाकाबाट आएका ५० वर्ष नाघेका आँखाका रोगीहरुलाई उपचार गरिएको थियो ।
बिहिबार देखि संञ्चालन गरिएको शिविरमा १ सय ५३ जना मोतिविन्दुको शल्यक्रिया, ७ जनाको सामान्य शल्यक्रिया र २ सय भन्दा बढी आँखाका विरामीहरुलाई जाँच तथा उपचार गरिएको रामेछाप सामुदायिक आँखा केन्द्र मन्थलीका इन्चार्ज बासु अधिकारीले जानकारी दिए । शिविरम कडा प्रकारका आँखाका रोगीहरुलाई निशुल्क उपचार हुने गरी तिलगंगामा पठाइएको पनि अधिकारीले जानकारी दिए ।
समाजसेवी तथा वरिष्ठ साहित्यकार स्व. जगदीश घिमिरेले सन् २००१ मा स्थापना गरेको आँखा केन्द्रबाट अहिल ७ हजार भन्दा बढी आँखाका रोगीहरुले उपचार पाइसकेका छन् । शल्यक्रियाको लागि आउने ४२ जना सेवाग्राहीलाई सामुदायिक विकास समाजले यातायात बापतको खर्च, शल्यक्रियाको लागि लाग्ने दुई हजार खर्च र मन्थलीमा बस्नको लागि सहयोग गरेको थियो ।
त्यस्तै मन्थली बचत तथा ऋण सहकारीले शल्यक्रिया पछि आवश्यक पर्ने औषधी र चस्मा प्रदान गरेको थियो भने तामाकोशी सहकारी अस्पतालले शल्यक्रियाको लागि ठाउँको व्यवस्थापन र डाक्टरहरुलाई बस्नको लागि सहयोग गरेको थियो । शिविरमा स्वास्थ्य विमा गरेका विरामीहरुले निशुल्क र बीमा नगरेका विरामीहरुले दुई हजार रुपैयाँ शुल्क तिरेर शल्यक्रिया गराएका थिए ।